![](https://sajhamanch.com/wp-content/uploads/2025/01/samsad-e1735706719753.jpg)
काठमाडौं । संघीय संसद् सचिवालयले आगामी फागुन १५ गते सम्मको प्रस्तावित संसदीय क्यालेन्डर तयार पारेको छ ।
जसमा संसद्मा विचाराधीन विधेयकहरू अगाडि बढाउने र संसदीय विषयगत समितिमा प्रतिवेदन पेस गर्ने लगायतका कार्यसूची छ । फागुन ४ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ । मन्त्रीहरूसँग प्रश्नोत्तर लगायतका कार्यक्रम पनि प्रस्तावित छन् । तर, अध्यादेश अगाडि बढाउने विषय प्रस्तावित कार्यसूचीमा छैन ।
संसद् अधिवेशन नरहेका बेला सरकारले गत पुस र माघ महिनामा गरेर विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ति सबै अध्यादेश सदनको दुवै सभामा प्रस्तुत भइसकेको छ ।
अध्यादेश अधिवेशन सुरु भएको पहिलो बैठकमा नै प्रस्तुत गर्नुपर्ने र त्यसको ६० दिन भित्र प्रतिस्थापन विधेयक ल्याएर पास गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रतिस्थापन विधेयक ल्याउनका लागि दुवै सदनबाट अध्यादेश स्वीकृत हुनुपर्छ ।
तर, अध्यादेश सदनबाट स्वीकृत हुन बाँकी छ । यसअघि माघ २४ गते दुवै सभामा अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची थियो ।
अन्तिममा सरकारको आग्रहमा दुवै सभाको कार्यसूचीबाट अध्यादेशसम्बन्धी कार्यक्रम झिकिएको थियो । त्यसयता बसेको दुवै सभामा अध्यादेश अगाडि बढ्न सकेको छैन ।
प्रतिनिधि सभाले १५/१५ दिनको पाक्षिक क्यालेन्डर बनाउँदै आएको छ । यसअनुुसार संसद सचिवालयले फागुन १ गतेदेखि १५ गते सम्मको क्यालेन्डर प्रस्ताव गरेको हो ।
क्यालेन्डर अनुसार फागुन ४ गते, ५ गते, ६ गते, ११ गते, १२ गते र १३ गते प्रतिनिधि सभाको बैठक बस्नेछ । ती बैठकमा कार्यसूची अगाडि बढाउने सम्बन्धी कार्यक्रम प्रस्ताव गरिएको छैन ।
तर, राजनीतिक सहमति भएमा वा सरकारले अगाडि बढाउन चाहेमा सभामुखले कार्यसूचीमा आवश्यक हेरफेर गरेर अगाडि जान सक्ने संसद् सचिवालयका अधिकारीहरू बताउँछन् ।