२०८१ माघ २४, बिहिवार , ०९:४७:५५ बजे

Sajhamanch
'

राष्ट्रिय सभामा पानीजहाज र विधि विज्ञान प्रयोगशाला विधेयक पेस

बिहिवार, माघ २४, २०८१

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ र ‘पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ पेस भएको छ ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक पेस गरेका हुन् ।

विधेयक पेस गर्दै शिक्षामन्त्री भट्टराईले वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्यायिक परीक्षण्मा सहयोग पुर्‍याउन तथा विधि विज्ञानको सम्बन्धमा अनुसन्धान र परीक्षणलाई विशिष्टिकृत बनाउनका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन गर्न आवश्यक रहेको बताइन् ।

उनले प्रयोगशालाको स्थापना तथा काम कर्तव्य र अधिकारका लागि कार्यकारी निर्देशक तथा कर्मचारीसम्बन्धी व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा परीक्षण तथा डिएनए डाटा बैंकको स्थापना सहितका व्यवस्था विधेयकमा प्रस्ताव गरिएको समेत बताइन् ।

यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालभित्रकै विभिन्न नदी तथा तालहरुमा विभिन्न क्षमताका जलयानहरु सञ्चालनमा आइरहेको उल्लेख गर्दै तिनको व्यवस्थापन र नियमन गर्ने प्रस्ताव विधेयकमा राखिएको जानकारी गराए ।