चितवन । सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । आज बुधबार अदालतले लामिछानेको मुद्दामा बहस नसकिएकोले न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो ।
थुनछेक बहस नसकिएकोले जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस पैरवी र थुनछेक गर्न भोलि बिहीबार ११ बजे उपस्थित गराउने गरी लामिछानेलाई सुरक्षाकर्मीको जिम्मा लगाई जिल्ला प्रहरी कार्यालय पठाइएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा भएको ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध मङ्गलवार दायर मुद्दामा आजदेखि बहस सुरु भएको हो ।
बुधवार चितवन जिल्ला अदालतमा जाहेरवाला र सरकारी वकिलसहित ४ जनाले बहस गरेका छन् । सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहन्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका हुन् ।
त्यस्तै जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका छन् । भोलि सरकारी वकिल ३ जना थपिने र रविको तर्फबाट १० जनाले बहस गर्ने बताइएको छ।
साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा भएको ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको छ ।