काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को केन्द्र राख्न न्यूनतम विद्यार्थी सङ्ख्या तोकेपछि परीक्षा केन्द्र टाढा हुने जोखिम बढेको छ ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाएर न्यूनतम विद्यार्थी सङ्ख्या रहनेगरी मात्रै परीक्षा केन्द्र तोक्न भनेपछि समस्या पर्ने भएको हो ।
बोर्डका अनुसार दुर्गम र हिमाली क्षेत्रमा एउटा परीक्षा केन्द्रमा कम्तीमा १५० जना, पहाडी क्षेत्रमा २५० जना तथा तराईरमधेस र काठमाडौं उपत्यकामा कम्तीमा ३०० जना विद्यार्थी रहने गरी केन्द्र निर्धारण गर्नुपर्छ । तर हिमाली क्षेत्रमा १५० र पहाडी क्षेत्रमा २५० विद्यार्थी जुटाउन धेरै विद्यालयका लागि एउटै परीक्षा केन्द्र तोक्नुपर्ने हुन्छ ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा रहेका तीनवटा माध्यमिक विद्यालयमा गरी ७१ जना मात्रै विद्यार्थी छन् । सङ्ख्या नपुगेर गाउँपालिकाभर परीक्षा केन्द्र नहुँदा विद्यार्थीहरु परीक्षा दिन झन्डै १० घण्टा टाढा सदरमुकाम पुग्नुपर्छ । सोलुखुम्बुकै खुम्बुपासाङल्हमु गाउँपालिकामा पनि एउटा परीक्षा केन्द्र राख्न विद्यार्थी पुग्दैनन् । यस्तो समस्या अरू धेरै पालिकामा रहेको छ ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेल शिक्षाको गुणस्तर कायम गर्न परीक्षा पनि महत्वपूर्ण रहेकोले कडाइ गर्न लागेको बबताउछन् । यो पुरानै व्यवस्था भए पनि यस वर्ष कार्यान्वयनमा कडाइ गरेको उनले बताए।
कुनै पालिकाभर परीक्षा केन्द्र नहुने र त्यहाँका विद्यार्थी निकै टाढा पुग्नुपर्ने अवस्थामा जिल्ला परीक्षा समन्वय समितिले निर्णय गरेर न्यूनतम मापदण्डभन्दा कम विद्यार्थी राखेर पनि केन्द्र तोक्न सक्ने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले उज्यालोलाई जानकारी दिए।