बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ६, बेलगाछी टोलकी २८ वर्षीया सरिता बिशुंकेले जीवन बचाउन सहयोगको अपिल गरेकी छिन् ।
स्तन क्यान्सरसँग संघर्ष गरिरहेकी उनले आर्थिक अभावका कारण उपचारमा समस्या रहेको बताईन् । जीवन–मरणको दोसाँधमा रहेकी उनले आम नागरिक, समाजसेवी तथा सहयोगी मनहरूलाई आफ्नो जीवन बचाइदिन आग्रह गरेकी हुन् ।
एक वर्षअघि सामान्य स्वास्थ्य समस्याबाट सुरू भएको सरिताको रोग जब गम्भीर बन्दै गयो, तब परीक्षणपछि उनलाई स्तन क्यान्सर भएको पुष्टि भयो । सुरूमा मेडिकल र घरायसी औषधि सेवन गरेर रोगलाई नियन्त्रण गर्ने प्रयास गरिए पनि जब क्यान्सर बल्झँदै गयो, उनलाई झन् गाह्रो हुँदै गयो ।
चिकित्सकहरूले तत्काल उपचार आवश्यक रहेको सुझाव दिए, तर आर्थिक अभावका कारण उनी निरन्तर उपचार गर्न असमर्थ भइन् । छरछिमेकको सहयोगले दुई पटक पुर्वान्चल क्यान्सर अस्पतालमा गएर किमोथेरापी गराए पनि अब पैसानै नभएको गुनासो गरेकी छन् ।
सरिताका श्रीमान् जगतबहादुर विश्वकर्मा चिया बगानमा मजदुरी गर्छन् । उनको दैनिक कमाई अत्यन्तै न्यून छ, मात्रै ४९५ रुपैयाँ । यस कमाइले घर चलाउनु, बालबच्चा पाल्नु, उपचार खर्च जुटाउनु असम्भव बन्दै गएको छ ।
“चिया बगानमा मजदुरी गरेर जीवन गुजार्दै आएका छौँ । श्रीमती बिरामी परेपछि उपचारका लागि साथीभाइबाट थोरै सहयोग उठायौँ, जसोतसो दुई पटक किमोथेरापी गरायौँ, तर अहिले खर्च अभावले सबै रोकिएको छ । खान नपुग्ने अवस्थामा छौँ, उपचार कसरी गरौँरु” उनले आँसु पुछ्दै भने ।
सरिताका दुई साना बालबच्चा छन् । उनी निको भएर आफ्ना छोराछोरीको भविष्य सुरक्षित बनाउने सपना देख्छिन् । तर, उपचार नहुँदा दिनदिनै उनको स्वास्थ्य कमजोर बन्दै गएको छ ।
“म निको भएर आफ्ना सन्तानको राम्रो भविष्य बनाउने सपना देखिरहेकी छु । मेरो जीवन बचाउन सबैले सानो सहयोग गरिदिनुहोस,” सरिताले सहयोगको अपिल गरिन् ।
सरिता बिशुंकेको जीवन बचाउन इच्छुक सहयोगी मनहरूले निम्न विवरणमा आर्थिक सहयोग गर्न सक्नुहुन्छ ।
🔹 खातावालाको नाम : सरिता बिशुंके
🔹 बैंकः एनआईसी एशिया बैंक, बिर्ताबजार शाखा
🔹 खाता नम्बरः २४६५७५३२५९२८२००१
🔹 सम्पर्क नम्बरः ९७०६१४१२१७ ९ जगतबहादुर विश्वकर्मा (बिरामीका श्रीमान)