२०८१ माघ १८, शुक्रवार , १२:१४:३८ बजे

Sajhamanch
'

आवासीय चिकित्सकहरूद्वारा ‘पेन डाउन’ गर्दै विरोध प्रदर्शन

शुक्रवार, माघ १८, २०८१

काठमाडौँ । आन्दोलनरत आवासीय चिकित्सकहरूले आज पेन डाउन गर्दै विरोध प्रदर्शन गरेका छन् । सरकारी सरह पारिश्रमिकको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरूले आज बिहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा पेन डाउन गरेका हुन् । साथै आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन समेत गरेका छन् ।

‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समिति’ मार्फत आवासीय चिकित्सकहरू आन्दोलन गर्दै आएका छन् । उनीहरूले माइतीघर मण्डलामा समेत प्रदर्शन गर्दै आएका छन् । आज दिउँसो १ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने सङ्घर्ष समितिका प्रवक्ता डा।सञ्जय बरालले जानकारी दिए ।

सङ्घर्ष समितिले इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक सरकारी सरह कायम गर्न माग गर्दै आएका छन् । उनीहरूले सम्पूर्ण पीजी कार्यक्रमहरू पूर्णरुपमा शुल्करहित र बोण्डरहित बनाउन पनि माग गरेका छन् ।

आफ्ना माग बेवास्ता गरिरहे अत्यावश्यक सेवाबाहेक सबै सेवा बहिष्कार गर्ने चेतावनीसमेत दिएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री मिलेर तीन बुँदे निर्णय गरेका थिए ।

जसमा आवासीय चिकित्सकको पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजारका दरले मासिक निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेका थिए । आवासीय चिकित्सकहरूले दुई मन्त्रीको उक्त निर्णयको विरोध जनाउँदै आएका हुन् ।

सम्बन्धित खबर