झापा । पाँचथरको फिदिम नगरपालिका-२ बैरङगीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ। स्थानीय एक किसानको अलैँचीबारीमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको हो।
शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान नभएको र पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विनलाल शाहले जानकारी दिए। मृतकको पहिचान र मृत्युको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै सङ्खुवासभाको सभापोखरीमा सुतेकै ठाउँमा एक व्यक्ति मृत फेला परेका छन् । गएराति ९ बजे सङ्खुवासभा सभापोखरी–३ खेलिङ बस्ने अन्दाजी ५२ वर्षीय सूर्यबहादुर राई वडा नं ३ कठेबारी बस्ने छिमेकी विष्णुमाया तामाङको घरमा आई सुतेकोमा आज बिहान सुतेकै ठाउँमा राई मृत फेला परेका हुन् ।
बिहान सोही वडाका वडा सदस्य खनबहादुर लिम्बूले टेलिफोनमार्फत जानकारी गराएपछि प्रहरी चौकी बाह्रबिसेबाट प्रहरी टोली खटिएको जनाइएको छ ।