काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी निष्कासन अभियानअन्तर्गत १ हजार ३०० जनाभन्दा धेरै नेपाली निष्कासनमा पर्ने भएका छन् ।
अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार १ हजार ३६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने भएका हुन् । कार्यालयले विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको सङ्ख्या सार्वजनिक गरेको हो ।
अमेरिकाबाट निष्कासन हुनेमा सबैभन्दा धेरै होन्डुरसका २ लाख ६१ हजार ६५१ जना, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३ जना, मेक्सिकोका २ लाख ५२ हजार ४४ जना रहेका छन् । यस्तै चीनका ३७ हजार ९०८ जना र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने भएका छन् ।
अमेरिकाको आन्तरिक सुरक्षा विभागका अनुसार अमेरिकामा ३ लाख जनाभन्दा धेरै नेपालीमूलका बासिन्दा छन् । जसमध्ये २ लाख जनाले ग्रीनकार्ड र झन्डै ८७ हजार जनाले नागरिकता प्राप्त गरेका छन् ।
२० हजार जना विद्यार्थी छन् भने २० हजार जनाले शरणार्थीका रूपमा आवेदन दिएका छन् । ७ हजार ५ सय जनाले अस्थायी आवासीय अनुमति पाएका छन् ।
अमेरिकाको अध्यागमन र भन्सार प्रवर्द्धन कार्यालयले १ हजार ३०० जनाभन्दा केही धेरै नेपाली अनधिकृत रहेको अनुमान गरेको छ । अमेरिकामा अहिले १ करोड २० लाख जना अवैध आप्रवासी रहेको प्यु रिसर्चले जनाएको छ ।
तीमध्ये सबैभन्दा बढी मेक्सिकोका झन्डै ५० लाख जना छन् । दोस्रोमा एल साल्भाडोरका ७ लाख ५० हजार र तेस्रोमा भारतका ७ लाख २५ हजार जना अनधिकृत आप्रवासी छन् ।
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै अमेरिकाले अनधिकृत आप्रवासीलाई सामूहिक रूपमा फिर्ता गर्न थालेको छ । ट्रम्पले पदभार ग्रहण गरेयता कम्तीमा २ हजार ६८१ जना अनधिकृत आप्रवासी पक्राउ परेका छन् ।
ट्रम्पले चुनावी अभियानमै घोषणा गरेअनुसार दक्षिणी सीमामा सङ्कटकाल घोषणासमेत गरिसकेका छन् । सङ्कटकाल घोषणासँगै अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा १५०० सैनिक तैनाथ गरेको छ ।