२०८१ माघ १७, बिहिवार , ०६:४७:५९ बजे

Sajhamanch
'

माइजोगमाईमा एचपिभी खोप सम्बन्धी अन्तरक्रिया

मङ्गलवार, माघ १५, २०८१
  • रोशन काफ्ले

माइजोगमाई (इलाम) । माइजोगमाई गाउँपालिकामा हुमन प्याथोमा भाइसर (एचपिभी) खोप सम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न भएको छ ।

स्वास्थ्य शाखाको आयोजनामा नयाँबजारस्थित अमर कल्याण माविको भवनमा पालिकास्तरीय खोप समन्वय तथा सरोकारवालाका बीच कार्यक्रम सम्पन्न गरिएको हो ।

गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको अध्यक्षता तथा उपाध्यक्ष प्रविना राईको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

खोपको प्रभावबारे माइजोगमाई आधारभूत स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी एस्मिन मन्तव्य व्यक्त गर्दै भनिन्, ‘पछिल्लो समय पाठेघरको मुखको क्यान्सर दिनानुदिन बढ्दो छ । यसको रोकथाम र महामारी नफैलियोस् भनेर ७७ वटै जिल्लामा खोप अभियान सञ्चालन भइरहेको छ ।’

एचपिभी खोप महिलालाई पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने खोप हो । यो खोप निःशुल्क रूपमा लगाइँदैछ । इलाम जिल्लाका १० वटै स्थानीय तहमा माघ २७ देखि फागुन २ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुँदैछ ।

माइजोगमाईमा पहिलो चरणमा विद्यालय तहमा कक्षा ६ देखि १० कक्षासम्मका किशोरीलाई र विद्यालय बाहिर १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप लगाइने अभियान रहेको स्वास्थ्य शाखा प्रमुख रामशंखर देवले जानकारी दिए ।

एचपिभी खोप नेपाल सरकारको पहलमा चीन सरकारसँग भ्याक्सिन खरिद गरेर सञ्चालन हुँदैछ । पाठेघरको मुखको क्यानसरबाट हालसम्म नेपालमा ३ लाख ११ जनाको मृत्यु भइसकेको र पछिल्लो समय पाठेघरको मुखको क्यासर बढ्दो समस्याको रूपमा रहेको स्वास्थ्य शाखा प्रमुख देवले राजकारी दिए ।

उपाध्यक्ष राईले स्वास्थ्यलाई प्रमुख दायित्व मानेर स्वास्थ नै ठूलो धन मानेर पालिकाले अझ स्वास्थ क्षेत्रमा केही कार्यक्रम गर्नुपर्ने बताइन् । विशेषगरी महिलालाई धेरै रोगले सताउने र सबै महिलाले खुलेर बोल्न नसक्ने हुँदा महिलालाई खुलेर रोगको बारे बताउनसमेत उपाध्यक्ष राईले आग्रह गरिन् ।

गाउँपालिका अध्यक्ष थेबेले स्वास्थमा आफैंले सुरक्षा अपनाउनु पर्ने बताए । सचेतना कार्यक्रम, प्रचारप्रसार गर्नुपर्नेमा उनले जोड दिए । पहिलो चरणमा जति लक्ष्य राखिएको छ, त्यो पूरा गर्न सहयोगका लागि सबैसँग उनले आग्रहसमेत गरेका छन् ।

माइजोगमाई गाउँपालिकाभरमा पहिलो चरणमा ५४८ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

सम्बन्धित खबर