२०८१ माघ १४, सोमवार , ०८:४७:४५ बजे

Sajhamanch
'

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१ : शैक्षिक परामर्शदेखि पर्यटन वर्ष प्रचारसम्म, अवलोकन गर्नेहरुको उपस्थिति बढ्दै

आइतवार, माघ १३, २०८१

झापा । बिर्तामोडमा माड गते सुरु गरिएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकन गर्नेहरुको उपस्थिति क्रमशः बढ्दै गएको छ । देश भित्र र बाहिर उत्पादित बस्तुहरुको खरिद र अवलोकनका लागि आउने जानेहरुको भीड बढेको हो ।

महोत्सव स्थलमा ग्रहकको उपस्तिथि बाक्लिएसँगै व्यवसायीहरु पनि उत्साहित देखिएका छन् । किचन सामग्री र स्वरोजगारमूलक उद्यमका उत्पादनमा ग्राहकको विशेष चासो देखिएको छ । शनिबार विदाको सदुपयोग गर्दै बालबालिका समेतको उपस्थितिमा ग्राहकहरु महोत्सवस्थल पुगेको देखिन्थे ।

मेलामा रौनक थप्न पोखराका नन्दनी साह चटपट र भेलपुरी लिएर बिर्तामोड आएका छन् । यसअघि उनले धरान एक्सपोमा पनि चटपट र भेलपुरीको स्वाद चखाएका थिए ।

धनकुटाको हिलेबाट ल्याइएको घरेलु ठेकी र तोङ्वासहितका घरायसी प्रयोजनका सामग्री बिर्तामोड महोत्सवको आकर्षण बनेको छ । मौसममा आएको सुधारसँगै ग्राहकको उपस्थिति बाक्लिएपछि महोत्सवमा खरिद बिक्री बढेर गएको व्यवसायी थीरमाया राउतले बताइन् । महोत्सवस्थलको किड्स जोनमा पनि बालबालिकाहरु खेल सामग्री प्रयोग गर्दै रमाई रहेका देखिन्छन् ।

महोत्सवलाई थप आकर्षण दिन यसपटक मुख्य प्रवेशद्वार विशेष प्रकारले डिजाइन गरिएको छ । मुख्य मञ्च अगाडि झापाकै प्रशिद्ध तीर्थस्थल अर्जुनधारा जलेश्वर धामको चित्र झल्कने मन्दिरको आकृति राखिएको छ । सेल्फी लिने र टिकटक बनाउने केन्द्रका रुपमा ती डिजाइनले साथ दिएका छन् ।

माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर विभिन्न जातिका सांस्कृतिक प्रस्तुतिहरु नियमित भइरहेका छन् । शनिबार राई जातिका कलाकारहरुले सांस्कृतिक प्रस्तुति गरेका छन् । जातीय भेषभूषामा सजिएर आएका उनीहरुले दिनभर मौलिक संस्कृतिको जर्गेनाका लागि छलफलसहित प्रस्तुति प्रदर्शन गरेका हुन् ।
प्रत्येक साँझ लोकप्रिय कलाकारहरुले साङ्गीतिक प्रस्तुति राखिएको महोत्सव आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ ।

शैक्षिक परामर्शदेखि पर्यटन वर्ष प्रचारसम्म

मेला या महोत्सवमा केवल मनोरञ्जनका लागि घुम्ने गरिन्छ । कतिपय मेला महोत्सवमा मनोरञ्जनका साथै दैनिक उपभोग्य साम्रगीहरुको खरिद बिक्रीसमेत हुन्छ । तर ‘व्यापार महोत्सव’मा भने सहभागीले मनोरञ्जन मात्र लिएका छैनन् । उनीहरुले शैक्षिक परामर्शदेखि पूर्वका पर्यटकीय क्षेत्रको जानकारी र पर्यटन वर्ष २०८२ कोसमेत जानकारी पाइरहेका छन् ।

विभिन्न कन्सलट्यान्सीहरुले महोत्सवमा सहभागीलाई उच्च शिक्षा अध्ययनका लागि शैक्षिक परामर्श प्रदान गरिरहेका छन् भने पर्यटन कार्यालय काँकरभिट्टाले कोशी प्रदेश पर्यटन वर्ष २०८२ को विषयमा जानकारी गराइरहेको छ । कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको छ ।

अधिकांश विद्यार्थीले माध्यमिक तहको परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि विदेश रोज्नेक्रम तीब्र बनेपछि अहिले कन्सल्ट्यान्सी व्यवसाय फस्टाएको छ । तर, उचित शैक्षिक पराशर्म नपाउँदा उनीहरु कुन देशको शैक्षिक अवस्था कस्तो छ भनेर अनभिज्ञ रहन्छन् । यस्तो अवस्थाका सारथी बनेका छन् कन्सलट्यान्सीहरु । तिनै कन्सलट्यान्सीले बिर्तामोड महोत्सवमा विद्यार्थी र उनीहरुका अभिभावकलाई लक्षित गर्दै शैक्षिक परामर्शका लागि स्टलहरु राखेपछि महोत्सवमा सहभागीले त्यसको भरपूर फाइदा लिएको पाइएको छ ।

विद्यार्थीलाई महोत्सव मूल आयोजक समितिले निःशुल्क प्रवेशको व्यवस्था गरेसँगै महोत्सव अवलोकनका लागि विद्यार्थीलाई सहज भएको छ । विद्यालय पोशाक र शिक्षकको रोहवरमा महोत्सव स्थलमा पुगेका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सव मूल आयोजक समिति संयोजक विशाल थापाले बताएका छन् ।

महोत्सव स्थलमा पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत रहेको पर्यटन कार्यालय काँकरभिट्टाले पर्यटन वर्ष २०८२ का विषयमा जानकारी गराउँदै आएको छ । जसले पर्यटन प्रहरी र पर्यटन वर्षका विषयमा जानकारी गराइरहेको छ ।

‘हाम्रो सभ्यता र हाम्रो संस्कृति, अथितिको सत्कार पर्यटन मैत्री व्यहार, प्रहरी र नागरिक बराबर जिम्मेवार’ नारासहित पर्यटन कार्यालयले पूर्वका पर्यटकीय क्षेत्र र पर्यटन वर्षका विषयमा महोत्सवमा सहभागीलाई जानकारी गराएको हो ।