झापा । झापाको झापा गाउँपालिकाले कक्षा ९ मा अध्यनरत २९१ जना विद्यार्थीहलाई साइकल प्रदान गरेको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाको अध्यक्षता एवं पालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यमा सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्यनरन छात्रछात्रालाई साइकल प्रदान गरिएको हो ।
शुक्रबार पालिका भवनमा आयोजित विशेष कार्यक्रममा उनीहरुलाई पालिकाको २०८१÷०८२ को शिक्षामा विनियोजन वजेट मार्फत टेन्डरबाट खरिद गरिएको १२ लाख बराबर रुपैयाँ बराबरका २९१ थान साइकल प्रदान गरिएको हो ।
डिल्लीराज माविका ७७ जना, जनता माविका १४० जना, जनकल्याण माविका ४२ जना, कुवाडी माविका १३ जना र महेन्द्र माविका १९ जना छात्र छात्रालाई साइकल प्रदान गरिएको पालिकाले जनाएको छ ।
शिक्षा शाखाको आयोजनामा भएको साइकल वितरण कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष थपलियाले कोही पनि विद्यार्थीले उच्च शिक्षाको लागि विद्यालय जानबाट बञ्चित हुन नपरोस् भनेर झापा गाउँपालिकाका माध्यमिक विद्यालयका कक्षा ९ मा अध्यन गर्ने विद्यार्थीलाई साइकल उपलब्ध गराएको बताइन् ।
गाउँपालिकाका निलम्बित अध्यक्ष जयनारायण साहाले अगाडि बढाएको शिक्षा, स्वास्थजस्ता कुरालाई निरन्तरता दिने बताउँदै थपलियाले शिक्षामा सुधार ल्याउन कक्षा ८ देखि १० सम्मका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई कोचिङ्गको व्यवस्थासमेत मिलाइएको जानकारी दिइन् ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत थपलियाले शिक्षामा ३ करोड रुपैयाँभन्दा बढी लगानी गरेको बताउदै साइकल वितरण गर्न थालेपछि विद्यालयमा छात्राहरूको संख्या बढदै गएको जानकारी दिए । कार्यक्रम फलदायी बन्दै गएको र विद्यार्थीले साइकल सदुपयोग गरे नगरेको अनुगमन गर्नेसमेत उनको भनाई थियो ।
शिक्षा शाखाका कर्मचारी अम्बिका गौतमले स्वागत गरेको कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख जीवन ढकालले गरेका थिए ।