काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि उम्मेदवारको सूची सार्वजनिक भएको छ ।
निर्वाचन समितिले अनलाइनमार्फत मनोनयन दर्ता भएका उम्मेदवारको सूची अनलाइन मै सार्वजनिक गरेको हो । सार्वजनकि सूची अनुसार पदाधिकारी र अन्य पदमा आवश्यक संख्याको कयौं गुणा बढी उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले जारी गरेको उम्मेदवारहरुको सूचिमा ३३ जना पदाधिकारीका लागि १६५ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा धेरै सचिव पदका लागि र सबैभन्दा कम कोषाध्यक्ष पदका लागि उम्मेदवारी परेको छ ।
अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा सापकोटा, विश्वमणि थापा र योगेन्द्रबहादुर बुढा छन् । उनीहरूलाई पार्टीका विभन्न नेताहरूको समर्थन रहेको बुझिएको छ ।
यस्तै महासचिवमा १० जनाको उम्मेदवारी परेको छ । पदमप्रसाद काफ्ले, प्रतिक कार्की, श्यामबहादुर मिजार, रोशन थापामगर, रोशन खड्का, गोविन्द बानिया, सन्जिब फुयाल, तिर्सना हमाल, शिव बस्नेत र संजयकुमार महतोले महासचिवमा उम्मेदवारी दिएका छन् ।
यस्तै, उपाध्यक्षमा ४४ जनाको उम्मेदवारी परेको छ भने उपमहासचिवमा ३८ जनाको उम्मेदवारी परेको छ । सचिवमा ६२ जना र कोषाध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन् ।
विभिन्न तीन आयोगको अध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोग अध्यक्षमा चार जना, लेखा आयोग अध्यक्षमा तीन जना र अनुशासन आयोग अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको निर्वाचनन आयोगले जनाएको छ ।
अखिल क्रान्तिकारीको २४३ जनाको केन्द्रीय समितिमा पदाधिकारी ३३, सचिवालय सदस्य, केन्द्रीय सदस्य १६२ जनाका लागि निर्वाचन हुन लागेको हो ।
मतदान १२ गते हुँदैछ । निर्वाचन कार्यक्रमअनुसार उम्मेदवार विरुद्धको उजुरीको छानबिनका साथै उम्मेदवारी फिर्ताको समय रहेको छ ।