२०८१ माघ ७, सोमवार , ०८:११:२३ बजे

Sajhamanch
'

ह्वाइटहाउसमा यसरी हुँदैछ ट्रम्पको स्वागत र बाइडेनको बिदाइ

सोमवार, माघ ७, २०८१

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज ह्वाइटहाउसमा पदभार ग्रहण गर्दैछन् । सोमबार १२ बजे ७८ वर्षीय ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्ने छन् ।

ह्वाइटहाउस प्रवेशअघि राष्ट्रपति ट्रम्प बिहान सेन्ट्र जोन्स चर्चमा प्रार्थना सभामा सहभागी हुनेछन् । त्यसपछि वर्तमान राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटघाट गरी सत्ता हस्तान्तरण हुने छ ।
त्यसपछि ट्रम्पले ह्वाइटहाउस नजिकैको पेन्सिल्भेनिया एभेन्युमा आयोजना हुने सैनिक कवाज र परेड अवलोकन गर्ने छन् ।पदभार ग्रहणकै दिन ट्रम्पले केही नियुक्ति र एक सयभन्दा बढी कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी गरेको द इकोनोमिक टाइम्सले जनाएको छ ।

यी कार्यकारी आदेशहरू मुख्यतः ट्रम्पको चुनावी प्रतिबद्धतासँग सम्बन्धित हुनेछन् । एनबीसी न्यूजसँगको एक अन्तर्वार्तामा ट्रम्पले पहिलो दिनमै ‘रेकर्ड’ तोड्नेगरी धेरै संख्यामा कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्ने योजना सुनाएका छन् ।

शनिबारदेखि नै उत्सव, करोडौं चन्दा संकलन

ह्वाइटहाउसमा उनको पुनरागमनलाई भव्य र ऐतिहासिक बनाउन शनिबारदेखि नै उत्सवमय वातावरणमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । शनिबार भर्जिनियास्थित गल्फ क्लबबाट सुरु भएको उत्सवका कार्यक्रम मंगलबारसम्म जारी रहने स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।ट्रम्प राष्ट्रपति बनेको खुसियालीमा विजय जुलुस, भोज, कन्सर्ट, आतसबाजी लगायतका कार्यक्रम गर्नका लागि शपथग्रहण समारोह समितिले १७ करोड अमेरिकी डलर चन्दा संकलन गरिसकेको छ ।

समारोहका लागि दस लाख डलर वा सोभन्दा बढी चन्दा दिने दाताहरू राष्ट्रपति तथा नवगठित मन्त्रिपरिषद्का सदस्यहरूसँगै चियापान तथा भोजमा सहभागी हुन पाउने बताइएको छ ।अतिथि, विशिष्ट अतिथि, मन्त्रिपरिषद्का सदस्य, पाहुना, चन्दादाता, समाजका लब्ध प्रतिष्ठित व्यक्ति सम्मिलित तीन वटा भोज आयोजना गर्ने तयारी छ । सो भोजमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुति हुनेछ ।मंगलबार राष्ट्रिय प्रार्थना सभासँगै सपथग्रहण समारोह उत्सव सम्पन्न हुनेछ ।ट्रम्प २०१६ को नोभेम्बरमा पनि राष्ट्रपतिमा निर्वाचित भएर पूरै चारवर्षे कार्यकाल बिताएका थिए । सन् २०२० को निर्वाचनमा भने उनी वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा भएका थिए ।त्यसपछि सन् २०२४ को नोभेम्बरमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । कुल ५३८ सिटमध्ये ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट पाएका थिए । ट्रम्पको पुनरागमनसँगै अमेरिकी नीतिहरुमा परिवर्तन आउन सक्ने अनुमान विश्लेषकहरुले गरेका छन् ।

सम्बन्धित खबर