काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एस निकट समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले निकट प्रेस चौतारी नेपालमा प्रवेश गरेको छ ।
एमाले महासचिव शंकर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र चौतारीका अध्यक्ष गणेश बस्नेतले सुवेदीसहितको टीमलाई मूलधारमा स्वागत गरेका हुन् ।
सूबेदीसहित संस्थापक उपाध्यक्ष नरेन्द्र साउद, महासचिव रामकुमार एलन प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् । सुवेदी नेतृत्वमा ३१ जिल्लाका अधिकांश पदाधिकारी पनि प्रेस चौतारीमा समाहित भएको अध्यक्ष गणेश बस्नेतले दावी गरेका छन् ।
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को भ्रातृ संगठनका रुपमा रहेको समाजवादी प्रेस संगठनको २०८० जेठमा सम्पन्न महाधिवेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित भएका थिए।
२०७७ पुस ५ मा संसद विघटन भएपछि तत्कालीन नेकपा सम्बद्ध प्रेस संगठनमा प्रचण्ड–समूहअन्तर्गत प्रेस चौतारी पृष्ठभूमिका पत्रकारको नेतृत्व सुवेदीले गरेका थिए । पार्टी विभाजन भएपछि प्रेस चौतारीको उक्त समूहले समाजवादी प्रेस संगठन स्थापना गरेका हुन् ।
सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, रमेश सुवेदी, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गर्ने घोषणा गरेका अध्यक्ष बस्नेतको दावी छ ।
आज मूलधारमा फर्किएका सुवेदीले प्रेस चौतारी नेपालमा केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेका थिए ।
सुवेदीलाई संगठनमा प्रवेश गराउँदै नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका लागि एमालेले ढोका खुला नगरेको बताएका छन् ।
समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी लगायतलाई पार्टी प्रवेश गराउँदै उनले माधव नेपाललाई एमालेले ढोका खुला नगरेको बताएका हुन् ।
‘हार्दिकतापूर्वक स्वागत गर्ने हो भने विश्वमणि होइन माधव नेपाल आउनुहुन्छ तर, हामीले माधव नेपालको लागि ढोका खोलेको छैनौं’ उनले भने ।
उनले अगाडि थपे, ‘तर उहाँले जुन गल्ती गर्नुभएको छ त्यो गल्तीवापत उहाँलाई स्वागत गर्ने पक्षमा एमाले छैन । त्यसैले उहाँले अरुलाई रोक्न खोज्नुभएको छ ।’ एमालेले सम्मान दियो भने माधव नेपाल एमालेमा तत्काल फर्कने उनको जिकिर छ ।
२० प्रतिशत केन्द्रीय सदस्य र जनप्रतिनिधिले पार्टी फुट्ने अध्यादेश ल्याउँदा पनि एमाले नसिद्धिएको भन्दै महासचिव पोखरेलले भने, ‘अध्यादेशले पार्टी बन्ने र सिद्धिने भन्ने होइन तर, अध्यादेश आयो भने पार्टी सिद्धिन्छ भन्ने त्रासपूर्ण मनोविज्ञानले पार्टी जोगिंदैन ।’
चुनावको घोषणा हुनासाथ नबन्ने पार्टीमा नेताहरू अडिएर बस्न नसक्ने महासचिव पोखरेलको जिकिर छ । ‘पार्टीमा भविष्य छैन भन्ने ठानेपछि नेता कार्यकर्ताले भविष्य खोज्छन्’ उनले भने, ‘इतिहास जहिले पनि शिक्षा र यात्रा लक्ष्यमा आधारित हुन्छ । इतिहासले मात्रै यात्रा अगाडि बढ्दैन ।’
नेता पोखरेलले अगाडि थपे, ‘भविष्यका प्रश्नमा केन्द्रित भएर अगाडि बढ्ने प्रयास गर्नुपर्छ । समाजवादी विदा हुँदैछ, एमाले जनताको लागि स्वीकार्य हुँदैछ ।’