२०८१ पौष २१, आइतवार , ११:११:२७ बजे

Sajhamanch
'

नेपाली कांग्रेसको एक सय दिने अभियानको झापामा समापन

मङ्गलवार, पौष १६, २०८१

झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले संविधान र पार्टी विधान संसोधनका विषयमा पार्टीले ठोस निर्णय लिनुपर्ने आवश्यकता औंल्याएका छन् ।

सय दिने विशेष सांगठनिक अभियानका लागि झापाका प्रतिनिधि समेत रहेका गिरीले अभियान समापनमा यस्तो धारणा राखेका हुन् । झापा कांग्रेसले आज पुष १६ गते ४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन सय दिने विशेष सांगठनिक अभियान समापन गरेको हो ।

‘‘संयुक्त गठबन्धन सरकारको सहमतिको पहिलो बुँदा नै संविधानमा संशोधन हो’ कांग्रेस नेता गिरीले भने, ‘के के विषयमा संविधान संसोधन गर्ने हो, के के सुधार गर्ने हो, त्यसमा पार्टी केन्द्रले ठोस निर्णय लिन जरुरी छ ।’

मिश्रित निर्वाचन प्रणालीका कारण अहिले कसैको पनि बहुमत आउने अवस्था नभएकाले निर्वाचन तथा सरकार सञ्चालनका लागि गठबन्धन गर्नुपरेको बताउँदै उनले मिश्रित निर्वाचन प्रणाली ठिक कि बेठिक निर्णय लिन जरुरी छ, मिश्रित निर्वाचन प्रणाली फेर्दै गर्दा पार्टीको विधान के गर्ने ? यस विषयमा पनि पार्टीले निर्णय लिनुपर्छ ।’

कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले मेलमिलाप नीति लिएर विपी कोइराला नेपाल नफर्किएको भए देशमा प्रजातन्त्र आउँथ्यो कि आउँदैनथ्यो भन्ने आशंका रहेको बताउँदै आजको दिनमा नेपाली राजनीतिको अत्यन्तै महत्वपूर्ण घटना भएको बताए । सोही योगदानका कारण गणतन्त्रसम्मको यात्रा सम्भव भएको उनको भनाई थियो ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यद्वय सुशिला ढकाल आचार्य र गोमा भट्टराई, नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङलगायतले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा मन्तब्य राख्ने अधिकांश वक्ताहरुले एक सय दिने विशेष सांगठनिक अभियानले टोल, वडा र गाउँ/नगरका कार्यकर्तामा जागरण ल्याएको चर्चा गर्दै अब किसान, मजदुर, भातृ संघसंस्था केन्द्रित एवं जनमुखी कार्यक्रम ल्याउनुपर्ने, पार्टीभित्रको गुट-उपगुट छाडेर संगठन ब्यवस्थित बनाउनुपर्ने, औपचारिक कार्यक्रमको ढाँचा परिवर्तन गरेर कार्यकर्तामुखी बनाइनुपर्ने, कार्यकर्ता र नेतृत्व दुवै अनुशासित बन्नुपर्ने लगायतका धारणा राखेका थिए ।

पार्टी झापाका उपसभापति केशवराज पाण्डेले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव नवीन विमलीले गरेका थिए ।