पोखरा । ठीक एक वर्षअघि, पुस ७ मा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्न रास्वपा सभापति रवि लामिछाने पोखरा पुगेका थिए । कार्यकर्ता र समर्थक मात्र होइन, सूर्यदर्शन सहकारीपीडित पनि लामिछानेको पर्खाइमा थिए । सहकारीको रकम लामिछानेले व्यक्तिगत रूपमा र उनी संलग्न भएको गोर्खा मिडियामा लगेर अपचलन गरेकाले आफूहरूमाथि अन्याय भएको उनीहरूको गुनासो थियो ।
सहकारीपीडितले दिएको ज्ञापनपत्र बुझेर सभामा गएका लामिछानेलाई एक असम्बन्धित व्यक्तिले खोया प्रहार गरेपछि लामिछाने स्वयंले सहकारी ठगीमा आफूलाई जोड्न खोजिएको भन्दै आक्रोश पोखेका थिए । यसरी लामिछाने र सहकारीबीचको साइनो सार्वजनिक बहसमा आएको ठीक एक वर्षपछि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा उनीसहित ४४ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
कास्की प्रहरीले ३ महिनामा गरेको अनुसन्धानले सहकारी, गोर्खा मिडिया, जीबी राई र रवि लामिछानेबीचको कारोबारका विस्तृत पाटा खुलाएको छ । पोखराको सूर्यदर्शनसहित पाँच सहकारीबाट कुल ६७ करोड ४८ लाख रुपैयाँ गोर्खा मिडियामा लगेर अपचलन गरिएकामा ४८ करोड ५८ लाख २२ हजार लामिछानेले एकल हस्ताक्षरबाट खर्च गरेको प्रमाण अदालतमा पेस भएको छ । त्यस्तै गोर्खा मिडिया नेटवर्कबाट कुल १२३७ चेक काटिएकामा ८१४ चेक लामिछानेले एक्लैले काटेका थिए । ‘गोर्खा मिडिया नेटवर्क प्रालिबाट भुक्तानी भएका चेकहरूको विवरण विश्लेषण गर्दा कुल १२३७ चेकबाट ५९ करोड ४९ लाख ४४ हजार ९५५ रुपैयाँ भुक्तानी भएको देखिन्छ । सोमध्ये ८१४ वटा चेकबाट ४८ करोड ५८ लाख २२ हजार २ सय ४६ रुपैयाँ बराबरको भुक्तानी लामिछानेको एकल हस्ताक्षरित चेकबाट भएको छ,’ प्रतिवेदनको पृष्ठ २९४ मा छ ।
४५ वटा चेक सहकारीको किस्ता भुक्तान गर्न लामिछाने आफैंले काटेको प्रमाण पनि प्रहरीले पेस गरेको छ । सूर्यदर्शन सहकारीको किस्ता तिर्न लामिछानेले एक वर्षसम्म हरेक महिना नियमित रूपमा चेक काटेको पनि अनुसन्धानले पुष्टि गरेको छ । सूर्यदर्शन सहकारीको ब्याज भुक्तान गर्न लामिछानेले १२ महिनासम्म काटेका चेकको विवरण अभियोजनपत्रको पृष्ठ २९५ मा तालिकासहित राखिएको छ । सूर्यदर्शनबाट लिएको ऋण तिर्न लामिछाने स्वयंले हस्ताक्षर गरेर चेक काटेकाले उनले जानीबुझी गैरकानुनी रकम स्थानान्तरण गरेको पुष्टि भएकाले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर स्थापित हुने प्रतिवेदनको दाबी छ ।
‘२०७८ असार ३१ देखि २०७९ असार ३० सम्मको समयावधि रहने गरी एक करोड कर्जा रकम १४.७५ प्रतिशत ब्याजदर हुने गरी रवि लामिछानेका नाममा कर्जा प्रवाह गरेको देखिन्छ,’ अभियोगपत्रमा भनिएको छ, ‘गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंकको खाताको चेकबाट मासिक रूपमा दुई वटा १ लाख १२ हजार वा एकै पटक २ लाख २४ हजारका चेकमार्फत नियमित रूपमा आफैंले दस्तखत गरी, आफू नै सेयरधनी तथा प्रबन्धकसमेत भएको कम्पनीबाट, आफू नै ऋणी भएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलगायतका सहकारी संस्थाहरूमा भुक्तानी दिएको तथ्यांकले उनले लिएको ऋण गोर्खा मिडियामा प्रयोग भएको देखियो ।’
त्यस्तै, लामिछानेले कम्पनीबाट अलग भएर राष्ट्रिय स्वतन्त्र पार्टी खोलेपछि पनि गोर्खा मिडियाको चेक चलाएको र एउटा चेकबाट आफ्नै खातामा समेत रकम लिएको प्रमाण भेटिएको छ । २०७९ असार १ मा गोर्खा मिडिया नेटवर्क छोडेको घोषणा गरेका लामिछानेले असार ७ मा राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर पार्टी घोषणा गरेका थिए । सुशासनको अभियानसहित पार्टी घोषणा गरेको पाँच दिनपछि असार १२ मा उनले गोर्खा मिडिया नेटवर्कको खाताबाट ७१ लाखको चेक काटेको र त्यसमध्ये आफ्नै नाममा पनि ९ लाख ८५ हजार ७ सय ४९ को चेक काटेर रकम लिएको भेटिएको छ । उनले कम्पनी छोड्नुअघि र पछि काटेका चेक पनि प्रहरीले अदालतमा पेस गरेको छ ।
‘निजले आफू उक्त प्रालिबाट सम्पूर्ण सेयर बिक्री गरी २०७९ असार १ बाट अलग भएपश्चात् पनि विभिन्न मितिमा विभिन्न व्यक्ति तथा कम्पनीहरूलाई उक्त खाताबाट आफू स्वयंले खाता सञ्चालकका रूपमा हस्ताक्षर गरी चेकमार्फत ७१ लाख ८० हजार ४९९ बराबरको भुक्तानी दिएको र आफ्ना नाममा समेत ९ लाख ८५ हजार ७४९ रुपैयाँको चेक काटी सो चेकमा दस्तखतसमेत गरी लिएको देखिएबाट रकम अपचलन गर्ने निजको मनसाय स्पष्ट देखिन्छ,’ सरकारी वकिल कार्यालयले प्रतिवेदनको पृष्ठ १३६ र १३७ मा खुलाएको छ ।
लामिछानेले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा ‘स्वेट सेयर’ बापत ७५ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा जम्मा गरेको, कम्पनीको प्रबन्धपत्ररनियमावलीरकम्पनीको बैठकबाट पारित गरेर आवश्यकताअनुसार कार्यकारी अध्यक्षको अनुमति र निर्देशनमा रकम खर्च भएको उल्लेख गरेका थिए । तर उनले ‘स्वेट सेयर’ लिएको भनेर प्रबन्धपत्र, कम्पनीका माइन्युट कहीं कतै उल्लेख नभएको बरु उनको सेयरबापतको रकम पनि सहकारीको बचत अपचलन गरेर लगानी गरिएको अनुसन्धानबाट पुष्टि भएको छ । सहकारीको रकमलाई आफ्नो लगानी भनेका लामिछानेले त्यो बीचमा आफ्नो तलबबाहेकको ठूलो रकम कम्पनीबाट पेस्की तथा ऋण शीर्षकमा लगेको भेटिएको छ । उनी गोर्खा मिडियामा आबद्ध रहेको अवधिमा ९० लाख ३१ हजार आम्दानी भएकामा उक्त रकमबाहेक २ करोड रुपैयाँ आफ्नै नाममा पेस्की लगेको पनि अनुसन्धानबाट खुलेको छ ।
‘प्रतिवादी रवि लामिछानेको हालसम्म प्राप्त आय विवरणअनुसार आर्थिक वर्ष २०७६ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको कर कट्टीपछिको आय ९० लाख ३१ हजार ६ सय १६ रुपैयाँ ७७ पैसा देखिन्छ,’ प्रतिवेदनको पृष्ठ ३३ मा भनिएको छ । त्यस्तै उनले कम्पनीबाट थप दुई करोड ऋण लगेको विवरण पनि यही पेजमा छ । यसरी लगानीका रूपमा राखिएको ७५ लाख र छुट्टै २ करोड पनि उनले अपचलन गरेको प्रतिवेदनमा दाबी गरिएको छ ।
जीबी र रवि मिलेर सहकारीको बचत रकमान्तर (प्लेसमेन्ट), तहकीकरण (लेयरिङ) र एकीकरण (इन्टिग्रेसन) गरेको दाबी अभियोजनमा गरिएको छ । सूर्यदर्शनबाट २ करोड रुपैयाँ जीबी राईको स्ट्यान्डर्ड चार्टर्ड बैंकको खातामा ट्रान्सफर गरेको, त्यसको ३ दिनपछि ७५ लाख रुपैयाँ लामिछानेको खातामा सारिएको र भोलिपल्ट त्यही ७५ लाख रुपैयाँ सेयर खरिदका लागि गोर्खा मिडिया नेटवर्कको खातामा सारेको, त्यहाँबाट फेरि लामिछानेको खातामा सारेर अपचलन गरेको तथ्य प्रतिवेदनको पृष्ठ २९९ मा समावेश गरिएको छ ।
‘सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरी गितेन्द्रबाबुको खातामा रकमान्तर भएको सो रकममध्ये रवि लामिछानेको व्यक्तिगत खातामा जम्मा गरी उक्त रकम पुनः गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा रकमान्तर तथा हस्तान्तरण गर्दै कम्पनीमा अवैध तवरबाट प्राप्त गरी निजले आफ्नो खातामा धारणसमेत गरी पुनः ट्रान्सफर गरेबाट सम्पत्ति शुद्धीकरण गर्ने कार्यमा निजको संलग्नता पुष्टि हुन आयो,’ अभियोगपत्रमा भनिएको छ, ‘बयानका क्रममा गोर्खा मिडियामा उनले गरेको लगानी ‘स्वेट सेयर’ बापत प्राप्त गरेको भनी बताए तापनि उनले सहकारीबाट अपचलन भई आएको रकम नै गोर्खा मिडियामा लगानी गरेर सेयरधनी भएको तथ्य सप्रमाण पुष्टि हुन आयो ।’
रवि लामिछानेले गोर्खा मिडियाको १५ प्रतिशत सेयर खरिद गर्न गरेको लगानीमध्ये ७५ लाख पोखराको सूर्यदर्शन सहकारीबाट र एक करोड बुटवलको सुप्रिम सहकारीबाट लिएको प्रकारान्तरबाट पुष्टि भएको छ । कास्कीमा भने सूर्यदर्शन सहकारीको ७५ लाख, उनले व्यक्तिगत रूपमा ५०/५० लाख गरी लिएको एक करोडका लागि उनलाई जवाफदेही बनाउन माग गरिएको छ । त्यस्तै सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा लगिएको ६ करोड ६१ लाखमध्ये लामिछानेको दायित्वस्वरूप १ करोड ६२ लाख ६५ हजार गरी ३ करोड ३७ लाख ६५ हजार रुपैयाँका लागि उनलाई अभियुक्त बनाइएको छ । त्यस्तै सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ बिगो कायम गरी त्यति नै जरिवानाको मागदाबी गरिएको छ । श्रीमती निकिता पौडेलको पनि सम्पत्ति जफत र लामिछानेलाई १५ वर्षसम्म कैद सजायको माग गरिएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ४४ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा अभियोगपत्र बुझाएको हो । अहिले पूरक अभियोजनमा अभियुक्त बनाइएका ४४ मध्ये ३१ जना व्यक्ति र ८ कानुनी व्यक्ति ९कम्पनी० लाई प्रतिवादी बनाइएको छ । पूर्वगृहमन्त्री लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका परिवारका सदस्यसहित पाँच जनालाई भने सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी बनाइएको छ ।
जीबी राईसहित १९ जनाविरुद्ध गत वर्ष नै मुद्दा दायर भएको छ । उनीहरूमध्ये जीबी राईसहित पाँच जनालाई सम्पत्ति शुद्धीकरण र सबैलाई संगठित अपराधको मुद्दा थपिएको छ । यसरी सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जम्मा ६३ जनालाई सहकारी ऐन, संगठित अपराध (निवारण) ऐन, सम्पत्ति शुद्धीकरण ऐन, राष्ट्र बैंक ऐन र मुलुकी अपराध संहिताको एकीकृत कसुरबमोजिम सजायको माग गर्दै मुद्दा दायर गरिएको छ ।
प्रतिवादी बनाइएका ६३ मध्ये गोर्खा मिडियाका अध्यक्ष जीबी राई, तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछाने, पूर्वसञ्चालक छविलाल जोशी, जीबी राईको सम्पत्ति व्यवस्थापनमा संलग्न लीला पछाई र नेचर हर्ब्स इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएको छ । क्रिप्टो कारोबारमा समेत संलग्न जीबी राईलाई राष्ट्र बैंक ऐनमा समेत मुद्दा चलाइएको छ ।
जीबी राईद्वारा ठगीबाट आर्जित सम्पत्ति व्यवस्थापन गर्ने र क्रिप्टोमा समेत लगानी गर्ने पछाईलाई राष्ट्र बैंक ऐन र एकीकृत कसुरमा सजाय माग गरिएको छ । पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनलाई पनि सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाइएको छ ।
सूर्यदर्शनको कुनै सदस्य एवं बचतकर्ता नभएको अवस्थामा लामिछानेसमेत खाता सञ्चालक रहेको गोर्खा मिडियाको खातामा रकमान्तर भएर गएको सेयर धारण गरेको कम्पनी रजिस्ट्रार कार्यालयको पत्रबाट पनि देखिन आएको अभियोगपत्रमा दाबी छ । उनले सहकारी तथा बचतकर्तालाई हानिनोक्सानी र आफू तथा कम्पनीलाई फाइदा हुने गरी सहकारीको बचतकर्ताको रकम सहकारीका अध्यक्ष जीबी राईसमेतसँग मिलेमतो गरी सहकारीको ऐन, नियम, विनियमविपरीत रकम अपचलन गर्नका लागि कृत्रिम कारोबार, कृत्रिम व्यक्ति, काल्पनिक ठेगाना उल्लेख गरी अपराधबाट बच्न, उम्कन पूर्वयोजनाअनुसार झूटा विवरण उल्लेख गरी आर्थिक लाभ लिएको पुष्टि हुने अभियोगपत्रमा उल्लेख छ ।
उनलाई सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) को खण्ड (घ) (४) र (ङ) बमोजिम आठ वर्षदेखि १० वर्षसम्म कैदको माग गरिएको छ । उनी डेढ अर्ब रुपैयाँ बचत अपचलनमा जोडिएकाले एक अर्बभन्दा बढी जतिसुकै रुपैयाँ बिगो भए पनि उक्त सजाय हुने कानुनी प्रावधानअनुसार सरकारी वकिलको कार्यालयले १० वर्षसम्म कैदको माग गरेको हो ।
लामिछाने र जीबी राईले संयुक्त रूपमा हस्ताक्षर गरेका ६ थान चेकबाट ६० लाख १९ हजार रुपैयाँ बराबरको भुक्तानी भएको पाइएको छ । अभियोगपत्रमा भनिएको छ, ‘यसरी भुक्तानी भएका चेकहरू नेचर हर्ब्स इन्टरनेसनल प्रालि, नेचर नेस्ट प्रालिजस्ता मिडिया क्षेत्रसँग कारोबार नै नहुने प्रतिवादी कम्पनीहरूसमेतलाई भुक्तानी दिएको देखिँदा सहकारी संस्थाहरूबाट अपचलन भई गोर्खा मिडियामा परिचालन भई आएको रकम उनले अवैध स्रोतको रकम हो भन्ने जानीबुझी पुनः स्थानान्तरण गरी व्यवस्थापन गर्ने कार्यमा संलग्नता रहेको देखियो ।’
कान्तिपुरबाट साभार