२०८१ मंसिर २७, बिहिवार , ०२:१८:३२ बजे

Sajhamanch
'

विवाहपञ्चमीको चौथो दिन तिल्कोत्सव सम्पन्न

बिहिवार, मंसिर २०, २०८१

जनकपुरधाम । सीताराम विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव सम्पन्न भएको छ । जानकी मन्दिरबाट भार (कोसेली) लिएर राममन्दिर पुगेर तिल्कोत्सव विधि सम्पन्न भएको हो ।

तिल्कोत्सवमालाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनुअघि बेहुली पक्षले बेहुला अर्थात् बरलाई भार लिएर पुगि तिल्काउने (टीकाटालो) गर्ने विधि हुन्छ । तिल्कोत्सवमा सम्धी मिलन पनि हुने गर्छ ।

जानकी मन्दिरबाट भारको नेतृत्व गरी पुगेको जानकीको पिता अर्थात् राजा जनकको प्रतिकात्मक रुपमा मन्दिरका महन्त सहमहन्त रामरोशन दास र रामका बुबा अर्थात् राजा दशरथको पिताको प्रतिकात्मक रुप राममन्दिरका महन्त राम गिरीबीच सम्धी मिलन भएको हो ।

राम मन्दिरमा महिलाहरुले मैथिली भाषाका थरी थरी लोक तथा गाली गीतले छोरी जानकीको पक्षबाट पुगेका साधुशन्तलाई गाली गरी स्वागत गर्ने चलन छ । यसरी सम्धी मिलन र तिल्कोत्सव सम्पन्न हुन्छ ।

आज पनि हजारौंको संख्यामा तिलकोत्सव कार्यक्रममा साधुशन्त भक्तजनको सहभागिता थियो । तिल्कोत्सवमा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि, कांग्रेस प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव लगायत पनि सहभागी थिए ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तेश्रो दिन मंगलबार बाह्रविघा मैदानमा धनुष यज्ञ मनाइएको थियो ।

भोलि पाँचौ दिन बिहीबार राम र जानकीको मटकोर, मुख्यदिन शुक्रबार जानकी र भगवान रामको विवाह र शनिबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत् सम्पन्न हुने छ ।

यसअघि आइतबार नगरदर्शन, सोमबार फूलबारी लिला गरिएको थियो । यसपटक प्रत्येक पाँच वर्षको अन्तरालमा भारत उत्तर प्रदेशको अयोेध्याबाट साधुशन्तको जन्ती आएकाले विवाहपञ्चमी महोत्सव थप रौनक बनेको छ ।

बिहिवार, मंसिर २०, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर