काठमाडौं । एसीसी १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा श्रीलङ्काले नेपाललाई २३४ रनको लक्ष्य दिएको छ ।
यूएईको शारहाजमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्काले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो । श्रीलङ्काका शारुजन शानमुगनाथनले ६२ रन बनाए । नेपालका सन्तोष यादवले ४ विकेट लिए ।
यूएईमा आजदेखि शुरू भएको प्रतियोगितामा आठ वटा देश सहभागी छन् । १९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ‘बी’ मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।
नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि आइतवार बङ्गलादेशसँग र तेस्रो तथा अन्तिम खेलमा मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।