२०८१ मंसिर १५, शनिवार , ०४:५७:१३ बजे

Sajhamanch
'

दक्षताअनुसारको रोजगारी नपाए युवा विदेशिन्छन् : पूर्व प्रधानमन्त्री देउवा

बुधवार, मंसिर १२, २०८१

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले युवालाई दक्षता अनुसारको रोजगारी दिन नसके पलायन हुने बताएका छन् ।

छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विश्वको ६० प्रतिशत जनसंख्या रहेको दक्षिण एशियाका राष्ट्रहरूले युवालाई उनीहरूको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरुरी रहेको बताएका हुन् ।

उनले युवालाई उत्पादन गर्ने क्षेत्रमा नवीन आविष्कारसहितको उद्यमशीलतामा लगाउन नसके विदेशिने क्रम अझै बढ्ने पनि बताए । ‘बढ्दो जनसंख्याका लागि आवश्यक पर्ने साधन र स्रोतको अपर्याप्तताका बाबजुद युवालाई विदेशिनबाट रोकेर उत्पादकत्व क्षेत्रमा लगाउन आवश्यक भएको’ पूर्व प्रधानमन्त्री देउवाको भनाई थियो ।

प्रजनन स्वास्थ्यमा नेपालले दिगो विकास लक्ष्यलाई प्राप्त गर्न सफल भएको पनि सभापति देउवाले बताए। नेपाली कौग्रेसका सभापति देउवाले भने, ‘विश्वको ६० प्रतिशत जनसंख्या रहेको दक्षिण एशियाका राष्ट्रहरूले युवालाई उनीहरूको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरुरी छ। हामीले युवालाई उत्पादकत्व क्षेत्रमा नवीन आविष्कार सहितको उद्यमशीलतामा लगाउन सकेनौँ भने अवसरको खोजीमा विदेशिने खतरा रहेकाले हाम्रा योजना र प्राथमिकता त्यसतर्फ केन्द्रित हुनु जरुरी छ।’

सभापति देउवाले जलवायुजन्य असरले पार्ने प्रभाव र दक्ष जनशक्ति प्रयोगका सम्बन्धमा सम्मेलनले मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरेका छन् ।