२०८१ मंसिर ८, शनिवार , ०६:३८:२९ बजे

Sajhamanch
'

सर्च इन्जिनमा गुगलको एकाधिकार तोड्न अमेरिकाको प्रस्ताव

बिहिवार, मंसिर ६, २०८१

झापा । अमेरिकी न्याय विभाग र केही राज्यहरूले बुधबार राति एक संघीय अदालतलाई गुगललाई आफ्नो लोकप्रिय वेब ब्राउजर क्रोम बेच्न बाध्य पार्नेगरी निर्णय गर्न आग्रह गरेका छन् ।

न्युयोर्क टाइम्सका अनुसार अगस्टमा अमेरिकी जिल्ला अदालतका न्यायाधीश अमित पी मेहताले गुगलले अनलाइन खोजमा एकाधिकार कायम गरेको ठहर गरेका थिए ।

न्यायाधीश मेहताले न्याय विभाग र मुद्दा दायर गर्ने राज्यहरूलाई खोजी गुगलको एकाधिकार सच्याउन बुधबारसम्म समाधान पेस गर्न भनेका थिए ।

यो कदमले २ ट्रिलियन डलरको कम्पनीको व्यवसायको आधारभूत स्वरूप नै बदलिन सक्छ भने इन्टरनेटमा हुने प्रतिस्पर्धा नयाँ अवस्थामा पुग्नेछ ।

सरकारले न्यायाधीश मेहतासँग क्रोम बेच्नुका साथै गुगललाई अरु के विकल्प दिन सकिन्छ भनेर सोधेको थियो ।

ती विकल्पमा कि त स्मार्टफोनको अपरेटिङ सिस्टम एन्ड्रोइड बेच्ने कि एन्ड्रोइड प्रयोग गर्ने फोनहरूमाथि आफ्नो सेवाहरू अनिवार्य बनाउनबाट गुगललाई रोक्ने रहेका छन् ।

यदि गुगलले यी सर्तहरू तोड्यो वा नयाँ बदलाव (सुधार) हरूले प्रतिस्पर्धा सुधार गर्न असफल भएमा सरकारले पछि कम्पनीलाई एन्ड्रोइड बेच्न बाध्य पार्न सक्छ ।

सरकारले न्यायाधीशलाई गुगललाई एप्पल र अन्य कम्पनीहरूसँग स्मार्टफोन र ब्राउजरहरूमा स्वचालित खोज इन्जिन राख्नका लागि गरिएका सशुल्क सम्झौताहरू रोक्न पनि आग्रह गरेको छ ।

योसँगै गुगललाई १० वर्षसम्म कम्पनीको खोज नतिजा डाटामा पहुँच पनि दिनुपर्नेछ जुन प्रतिस्पर्धीहरूलाई गुगलको उत्पादनको गुणस्तरसँग पछ्याउन मद्दत गर्नेछ ।

सन् २००० मा न्याय विभागले माइक्रोसफ्टसँग माग गरेकोपछि यो सबैभन्दा महत्वपूर्ण प्रस्ताव हो । यदि न्यायाधीश मेहताले न्याय विभागको यी प्रस्तावहरू स्वीकार गरे भने एप्पल, अमेजन र मेटा लगायतका विख्यात टेक कम्पनीहरूको प्रभुत्वलाई चुनौती दिने अन्य प्रतिस्पर्धा विरोधी मुद्दाहरूको व्याख्या गर्ने नजिर उपलब्ध हुनेछ ।

क्रोम र एन्ड्रोइड बेच्न बाध्य पारिनु गुगलका लागि सबैभन्दा खराब परिणामहरू मध्ये एक हुनेछ । सन् २००८ मा सुरु गरिएको र प्रयोग गर्न निःशुल्क रहेको क्रोम, स्ट्याटकाउन्टरका अनुसार विश्वको सबैभन्दा लोकप्रिय वेब ब्राउजर हो । यसले विश्वव्यापी ब्राउजर बजारको अनुमानित ६७ प्रतिशत हिस्सा ओगटेको छ ।

स्ट्याटकाउन्टरका अनुसार एन्ड्रोइड विश्वको सबैभन्दा लोकप्रिय मोबाइल सफ्टवेयर हो, जसले बजारको अनुमानित ७१ प्रतिशत हिस्सा ओगटेको छ ।

दुवै गुगलको विस्तृत इकोसिस्टमको अंश हुन् जसमा विश्वका धेरै मानिस जोडिएका छन् ।

सम्बन्धित खबर