झापा । बिर्तामोडमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु भएको छ । नगरपालिकाको आयोजनामा दुई दिने शिविर आजदेखि पशुपन्छी तथा मत्स्य विकास शाखाको कार्यालय वडा नम्बर ४ मा सुरु भएको हो ।
एक संक्षिप्त कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईँले नगरका सबै वडाबाट सामुदायिक कुकुर सङ्कलन गरेर बन्ध्याकरण गर्न निर्देशन दिएकी छन् ।
छाडा कुकुरका कारण विभिन्न प्रकारका दुर्घटना, रेबिज, अन्नबालीमा समेत क्षति हुने गरेकोले यसको नियन्त्रणका लागि यो शिविर महत्त्वपूर्ण रहेको उनले बताइन् ।
यस पटक २ सय वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिने पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख डाक्टर नगेन्द्र खड्काले जानकारी दिए । बिर्तामोडमा सामुदायिक कुकुरको बन्ध्याकरण हरेक वर्ष हुँदै आएको छ ।
यस वर्ष हाम्रो भेटेरिनरी सहकारी संस्था बिर्तामोडले प्राविधिक सहयोग उपलब्ध गराएको छ । यस संस्थाका चिकित्सकसहित १२ जनाभन्दा बढी जनशक्ति शिविरमा खटिएका छन्।
यस वर्ष ५ लाख रुपैयाँ बजेट यस शीर्षकमा छुट्टिएको र सोही अनुसार शिविर सञ्चालन गरिएको शाखाकी अधिकृत सावित्रा दाहालले जानकारी दिइन् । उनका अनुसार एउटा कुकुरको बन्ध्याकरण खर्च दुई हजार ६५० रुपैयाँ हुने गरेको छ ।
कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक सदस्य सिता ढुङ्गाना विश्वकर्माको अध्यक्षतामा आयोजित शिविर उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्मा, नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, वडा नम्बर ८ का वडा सदस्य अग्निप्रसाद सिटौलालगायतको उपस्थिति रहेको थियो ।