काठमाडौं । स्पिन इभेन्ट्सको आयोजनामा चौथो अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने भएको छ । अखिल नेपाल टेबल टेनिस सङ्घको संयोजनमा यही मङ्सिर ११ देखि १५ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताका खेलहरू लैनचौर टेबल टेनिस हलमा हुनेछ । प्रतियोगितामा ११ वटा स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ४५० जना खेलाडीले चुनौती प्रस्तुत गर्नेछन् । विजेता खेलाडीहरूका लागि नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
खेलकुदप्रेमी सुमन खड्गीले प्रतियोगिताको मुख्य प्रायोजन गरेका छन् । यससम्बन्धी सम्झौतापत्रमा आजै खड्गी र आयोजक स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्यले हस्ताक्षर गरेका छन् ।