
काठमाडौं । नेपालमा बर्सेनि ६ महिना वायु प्रदूषण जोखिम हुने गरेको छ । वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दासका अनुसार नोभेम्बरदेखि अप्रिलसम्म नेपालमा वायु प्रदूषणको जोखिम रहन्छ ।
उनले नेपालमा बर्सेनि करिब ३० लाख मेट्रिक टन कृषि अवशेष जलाइने बताए । जसले वायु प्रदूषण बढाउने उनको भनाइ छ । यसका साथै, सवारी साधन, उद्योग, निर्माण कार्य लगायतका कारणले वायु प्रदूषण हुने गर्दछ ।
‘भारतको नयाँ दिल्ली र पाकिस्तानको लाहोर विश्वमै सबैभन्दा बढी वायु प्रदूषणको जोखिममा छन्,’ उनले भने, ‘नेपालमा पनि सुरु हुन थालेको छ । पराल तथा फोहोरसमेत जलाउने गर्दा प्रदूषण बढ्छ ।’
बुधबार नेपालको आईक्यू एयरका अनुसार नेपालको एक्यूआइ १२६ रहेको छ । डब्ल्यूएचओले एक्यूआई १५० भन्दामा माथि पुग्दा वायुलाई ‘अस्वस्थ’ मानेको छ । सो अंक ३०० भन्दा माथि पुगे त्यसलाई ‘खतरनाक’ मानिन्छ ।