भद्रपुर । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट मंगलबार झापामा गरिएको छ ।
टिमले कोशी प्रदेशका ५ वटा जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्टको दोस्रो जिल्ला झापाको बिर्तामोडमा १०० भन्दा बढी खेलाडीको परीक्षण गरिएको हो ।
झापाका विभिन्न स्थानबाट आएका युवा क्रिकेटरहरुको सहभागितामा उक्त ट्यालेन्ट हन्ट सम्पन्न भएको थियो । ट्यालेन्ट हन्टमा टिमका क्रिकेट कोच लाक्पा लामा र दिपेन्द्र चौधरीले उत्कृष्ट खेलाडी छानेका थिए ।
झापाबाट उदीयमान ५ जना खेलाडी छानिएका छन् । छानिएका खेलाडीसहित अन्य ३ जिल्लाका छानिएका खेलाडी विराटनगरमा हुने तयारी क्याम्पमा सामेल गर्ने विराटनगर किंग्सका अपरेसन डाइरेक्टर दिपेन्द्र चौधरीले जानकारी दिए ।
यसअघि टिमले इलाममा पनि ट्यालेन्ट हन्ट गरेको थियो । इलाम र झापापछि कोशी प्रदेशको सुनसरीमा कात्तिक २९ गते, उदयपुरमा कात्तिक ३० गते, मोरङमा मङ्सिर २ गते ट्यालेन्ट हन्ट आयोजना हुने जनाइएको छ ।
कोशी प्रदेश क्रिकेट एसोसिएसनको सहकार्यमा ट्यालेन्ट हन्ट आयोजना गरिएको हो । विराटनगर किंग्सको मार्की खेलाडी सन्दीप लामिछाने रहेका छन् । कोशीको शान हाम्रो पहिचान भन्ने नारासहित टिम कोशी उदीयमान खेलाडीहरुको खोजीमा निस्किएको हो ।
क्यानको आयोजनामा पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ गतेदेखि पुष ६ गते (नोभेम्बर ३० देखि डिसेम्बर २१) सम्म हुनेछ ।
विराटनगर किंग्सको टिममा सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दिपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अनिल खरेल रहेका छन् । मार्टिन गप्टिल, अकिब इल्यास, निकोलस किर्टोन, क्रिस सोल विदेशी खेलाडी छन् । टिमको मुख्य प्रशिक्षकको रुपमा केभिन ओब्रायन रहेको जनाइएको छ ।