२०८१ पौष २४, बुधवार , ०९:१४:०१ बजे

Sajhamanch
'

२०५६–२०७७ अवधिका ११ र १२ कक्षा अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने

आइतवार, कार्तिक २५, २०८१

भक्तपुर। २०५६ सालयता कक्षा ११ र १२ का परीक्षार्थीहरुले एक पटकका लागि मौका परीक्षा दिन पाउने भएका छन् । २५ वर्षअघि कक्षा ११ र १२ मा भर्ना भएका तर पढाइ पूरा गर्न नसकेका विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने भएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले कात्तिक २३ गते सूचना प्रकाशन गरेर मौका परीक्षामा सहभागी हुन इच्छुकहरुलाई २०८१ मंसिर २७ गतेसम्म सम्बन्धित विद्यालयमार्फत परीक्षा फाराम भर्न आहुवान गरेपछि यस्तो जानकारी सार्वजनिक भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार अङ्कन प्रणालीमा कुनै विषयमा अनुत्तीर्ण भएका, परीक्षामा अनुपस्थित भएका वा अक्षरांकन पद्दतिमा पुरानो ग्रेडिङ प्रणालीअनुसार डी र ई ग्रेड प्राप्त गरेकाहरुले मौका परीक्षा दिन पाउनेछन् । उनका अनुसार जति विषयमा फेल भएका विद्यार्थीहरुले पनि मौका परीक्षा दिन पाउँछन् । प्रयोगात्मक विषय मात्र बाँकी रहेका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउँछन् ।

कक्षा १२ का लागि रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम भएकाले मौका परीक्षाको फारम भर्न पाउँछन् । यसैगरी कक्षा ११ का लागि रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकाहरुले अन्तिम एक पटकका लागि मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको सदस्य सचिव अर्यालले बताएका छन् ।

आवेदन फारम प्राप्त भइसकेपछि मौका परीक्षाको तालिका सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस्ता विद्यार्थीहरुको संख्या करिब १४ लाख रहेको बोर्ड पदाधिकारीहरुको अनुमान छ ।

पुराना विद्यार्थीहरुको परीक्षा पुरानै पाठ्यक्रम अनुसार हुने पनि जनाइएको छ ।

सम्बन्धित खबर