२०८१ मंसिर ७, शुक्रवार , १०:०१:२८ बजे

Sajhamanch
'

स्थानीय तह उपनिर्वाचनमा ४४ पदका लागि मंसीर २ गते उम्मेदवारी दर्ता गरिँदै

बुधवार, कार्तिक २१, २०८१

झापा। निर्वाचन आयोगले देशभरका स्थानीय तहमा रिक्त रहेका ४४ वटा विभिन्न पदहरुका लागि मंसिर १६ गते उपनिर्वाचन गर्न लागेको छ ।

आयोगका अनुसार ओखलढुंगा र कैलाली जिल्ला समन्वय समितिका प्रमुखहरु १–१ जना, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख र जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका उपप्रमुखको उपनिर्वाचन गरिँदैछ ।

यस्तै मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष १–१ जना, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष १–१ जना विविध कारणले रिक्त रहेकाले उपनिर्वाचन गर्न लागिएको हो ।

यसैगरी, ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नं. ३, झापा जिल्लाको कनकाइ नगरपालिका वडा नं. ६, तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वडा नं. ८, सुनसरी जिल्लाको गढी गाउँपलिका वडा नं. ६ मा वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ ।

आयोगका अनुसार ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं. ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ र बेलका नगरपालिका वडा नं. ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४ मा पनि वडाध्यक्ष पद रिक्त रहेकाले उपनिर्वाचन हुँदैछ ।

त्यस्तै, धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. २, रौतहटको ईशनाथ नगरपालिका वडा नं. ७, राजपुर नगरपालिका वडा नं. ६ र गढीमाई नगरपालिका वडा नं. ८ को वडाध्यक्ष पदका लागि पनि निर्वाचन हुनेछ ।

काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौँ महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४, रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदमा निर्वाचन हुने आयोगका सूचना अधिकृत सुमन घिमिरेले जानकारी दिएका हुन् ।

दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदका लागि पनि निर्वाचन हुनेछ ।

उपनिर्वाचन अन्तरगत जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ वटा रिक्त पदमा चुनाव हुनेछ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।

उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ । मंसिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुनेछ भने सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

सम्बन्धित खबर