२०८१ मंसिर १०, सोमवार , ०८:३७:४४ बजे

Sajhamanch
'

साफ महिला च्याम्पियनसिप: नेपाल र बंगलादेश भिड्दै, खेल हेर्न प्रधानमन्त्री पनि रंगशाला जाने

बुधवार, कार्तिक १४, २०८१

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ ।दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जाने छन् । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्ने छन् ।नेपालले भारतलाई पेनाल्टीमा ४–२ले हराउँदै र बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । नेपाल आज बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहोर्‍याइ फाइनल खेलको नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको बताए । उनले भने, ‘यसअघिका संस्करणमा पाँच पटकसम्म फाइनल खेलेर पनि हामी च्याम्पियन बन्न सकेका छैनौं । तर यसपटक बङ्गलादेशलाई पराजित गर्दै उपाधि जित्ने गरी योजना बनाएका छौं ।’ प्रशिक्षक तामाङले बङ्गलादेश बलियो टोली भएको टिप्पणी गर्दै आफ्नो टोलिमा घरेलु समर्थकको साथ भएकाले उपाधि जित्नेमा विश्वास व्यक्त गरे ।

यसअघिका ६ मध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बंगलादेशसँग एकपटक पराजित भएको थियो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।

सम्बन्धित खबर