२०८१ कार्तिक १०, शनिवार , ०७:२५:३८ बजे

Sajhamanch
'

गोरख भेट्रान्स कप उपाधिको लागि बिर्तामोड र दमक भिड्ने

शुक्रवार, कार्तिक ९, २०८१

सन्दकपुर । दोश्रो गोरख भेट्रान्स कप फुटबलको उपाधिको लागि पूर्वेली भेट्रान्स बिर्तामोड र दमक लखनपुर भेट्रान्स दमक भिड्ने भएका छन् ।

आज शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा विजय हासिल गर्दै बिर्तामोड र दमक उपाधिको लागि भिड्ने भएका हुन् । पहिलो सेमिफाइनल खेलमा बिर्तामोडले बरमियोक नाम्पिङ सिक्किमलाई ४–३ र दोश्रो सेमिफाइनलमा दमकले युएफसी बुङ्कुलुङलाई १–० ले हराएको हो ।

सुरुवाती ३–० को अग्रता जोगाउन नसक्दा सिक्किम अन्तिम चारबाट पराजित भएको हो । खेलको तेस्रो मिनेटमा दावा भोटियाले सिक्किमलाई अग्रता दिलाए । ८औ मिनेटमा दावाले अग्रता दोब्बर बनाए । १७औ मिनेटमा तेन्जिङ भोटियाले ३–० गोल अन्तर बनाए ।

२२औ मिनेटमा प्रेम लिम्बूले गोल अन्तर कम बनाए । पहिलो हाफमा ३–१ को अग्रता बनाएको सिक्किमले दोश्रो हाफमा थप ३ गोल व्यहोर्न पुग्यो । दोश्रो हाफको ७औ मिनेटमा लिम्बूले गोल अन्तर ३–२ बनाए । ४ मिनेट नबित्दै सन्तोष राईले गोल गर्दै खेल बराबरी गरे ।

इन्जुरी समयमा कर्ण लिम्बूले कर्नरबाट गरेको प्रहारलाई फेरि लिम्बूले जाली चुमाउँदै ह्रयाट्रिक पूरा गरे । ह्रयाट्रिक गरेका लिम्बू म्यान अफ दि म्याच घोषित भए । उनलाई जिल्ला समन्वय समिति इलाम उपप्रमुख चित्रकला बराइलीले ट्रफी प्रदान गरिन् ।

त्यसैगरी दोस्रो सेमिफाइनलमा विकास राईले निर्णायक गोल गरेपछि दमकले फाइनलमा स्थान बनाएको हो । दोस्रो हाफको १५औ मिनेटमा उनले गोल गरेका थिए ।

अग्रता बनाएको ३ मिनेट नबित्दै दमक ६ खेलाडीमा सिमित भएको थियो । स्ट्राइकर सुवास आङथुपो रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

म्यान अफ दि म्याच निर्णायक गोलकर्ता राई घोषित भए । फाइनल खेल कार्तिक १० गते हुनेछ ।

गोरख भेट्रान्स कपका संरक्षक राजु बम्जनको अध्यक्षतामा भएको कार्यक्रममा जिसस उपप्रमुख चित्रकला बराइलीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बराइली र सन्दकपुर खेलकुद विकास समितिका अध्यक्ष रुपेन्द्रराज नेम्वाङले शुभकामना मन्तव्य राखेका थिए ।

गोरख टोल विकास संस्था सूर्योदय नगरपालिका–५ समालबुङ को आयोजना र गोरख युनाइटेड क्लबको सहआयोजनामा भएको प्रतियोगिताको विजेताले ७० हजार र उपविजेताले ३५ हजार नगद पाउने छन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार व्यवस्था गरिएको छ ।

शुक्रवार, कार्तिक ९, २०८१ | खेलकुद, प्रदेश

सम्बन्धित खबर