बिर्तामोड । टाइब्रेकरमा वडा नम्बर ८ लाई पाखा लगाउँदै वडा नम्बर ५ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत निर्धारित समयमा दुवै टिमबीच १–१ गोलको बराबरी भएको थियो ।
टाइब्रेकरमा वडा नम्बर ५ ले वडा नम्बर ८ लाई ५–३ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
यसअघि खेलको १५औँ मिनेटमा वडा नम्बर ८ का रिवाज घिमिरेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको ४०औँ मिनेटमा वडा नम्बर ५ का नरेन लिम्बूले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए ।
खेलको प्लेयर अफ म्याच वडा नम्बर ५ का गोलकर्ता लिम्बू भए । उनलाई समिति उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष गुरुङ र वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङले नगद २ हजार र ट्रफी प्रदान गरे ।
पाँचौँ संस्करणको प्रतियोगिता सैनिक बजारमा रहेको महेन्द्रज्योति माविको खेल मैदानमा जारी छ ।
आजै भएको भेट्रान फुटबलमा वडा नम्बर ५ ले वडा नम्बर ८ लाई ७–० गोल अन्तरले हराएको छ ।