काठमाडौं । अमेरिकी दूतावासले डाइर्भसिटी भिसा (डीभी) का लागि आज रातिबाट आवेदन खुल्ला गर्दैछ। काठमाडौँस्थित अमेरिकी दूतावासअनुसार बुधबार राति ९ः४५ बजेदेखि आवेदन खुला गर्न लागिएको हो।
डीभीका लागि https://dvprogram.state.gov/ मार्फत भर्न सकिने दूतावासले जनाएको छ। आगामी नोभेम्बर राति १०ः४५ बजेसम्म डीभीका लागि आवेदन दिन सकिने दूतावासले जनाएको छ।
डीभी कार्यक्रममा सहभागी हुनेलाई कुनै शुल्क नलाग्ने भन्दै आवेदन दिँदा कन्स्लटेन्टको सहयोग नलिन दूतावासले आग्रह गरेको छ।
आवेदन दिँदा आवेदकले पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई अनिवार्य सूचीकृत गर्नुपर्ने दूतावासले जनाएको छ। उनीहरूलाई समावेश नगरी पेश गरिएको निवेदन अमान्य हुने दूतावासले निकालेको विज्ञप्तिमा भनिएको छ।
एक जना व्यक्तिले डीभीका लागि एउटामात्र आवेदन दिन पाउने बताउँदै गत वर्ष प्रयोग गरिएको फोटो प्रयोग नगर्न पनि दूतावासले भनेको छ। आवेदनका लागि प्रयोग गर्ने फोटोमा चस्मा लगाउन नहुने दूतावासले बताएको छ।
डीभी आवेदनभर्दा राहदानी अनिवार्य गरिएको छैन। त्यस्तै डीभी आवेदन भरिसकेपछि प्राप्त हुने कन्फर्मेसन नम्बरलाई सुरक्षित राख्न दूतावासले अनुरोध गरेको छ।