२०८१ कार्तिक २४, शनिवार , ०६:१९:४१ बजे

Sajhamanch
'

अमेरिकामा ‘छक्कापञ्जा ५’को बुकिङ खुल्यो, अलास्कामा पहिलोपटक नेपाली फिल्म

शनिवार, असोज १२, २०८१

काठमाडौं । यसवर्षको प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’को अग्रिम बुकिङ अमेरिकामा खुला भएको छ । वितरण कम्पनी नेपाल इलेभेन इन्टरटेनमेन्टले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

नेपालसहित अन्य मुलुकभन्दा अमेरिकामा सबैभन्दा पहिले बुकिङ खुला भएको वितरक प्याट्रिक सुवेदीले बताए । केही हलले बुकिङ खुला भएको जानकारी वेब–साइटबाट समेत दिएका छन् ।न्यू इङ्ल्याण्ड क्षेत्र र न्यूयोर्कमा केन्द्रित एप्पल सिनेमाजले आफ्ना सबै चेनमा अग्रिम बुकिङ खोलेको छ । यो बुकिङ ‘छक्कापञ्जा ५’को पहिलो बक्स अफिस बुकिङ हो ।

बोस्टनमा मुख्यालय रहेको उक्त चेनले बोस्टन, न्यू ह्याम्पसायर, न्यूयोर्कका २ थिएटर, कनेक्टिकट र रोड आइल्यान्डमा फिल्मका ५८ शोज खुला गरेको छ ।सिनेपोलिस सिनेमाजले पनि १० अक्टोबरको साँझदेखि युलेस, टेक्सासमा अग्रिम बुकिङ खोलेको छ, जसमा पहिलो हप्ताका लागि २३ शो हुनेछन् । वितरकका अनुसार डलास क्षेत्रमा मात्र थप तीन थिएटरमा यो फिल्म प्रदर्शन हुनेछ ।टेक्सास राज्यका कुल १२ थिएटरले यो फिल्म प्रदर्शन गर्ने पुष्टि गरेका छन् । पहिलोपटक यति धेरै थिएटरले नेपाली फिल्म प्रदर्शन गर्न लागेका हुन् ।

फिल्म १० र ११ अक्टोबरमा ७० भन्दा बढी हलमा प्रदर्शन हुने जनाइएको छ । अमेरिकाको ठूलो सिनेमार्क चेनले ३७ थिएटरमा फिल्म प्रदर्शन गर्ने जनाएको छ । माक्र्स थिएटर चेनले १२ भन्दा बढी स्थानमा प्रदर्शन गर्न सहमति जनाएको छ । रेगल सिनेमाजले कम्तीमा १२ हलमा रिलिज गर्नेछ ।केही स्वतन्त्र हलमा समेत फिल्म लाग्ने वितरक सुवेदीले जनाए । ‘छक्कापञ्जा ५’ले अमेरिकाको अलास्का राज्यमा रिलिज हुने पहिलो नेपाली फिल्मको कीर्तिमान रच्नेछ ।वितरकका अनुसार फिल्म न्यूयोर्कमा ५ स्थान, टेक्सासमा १२ स्थान, क्यालिफोर्नियामा ६ स्थान, ओहायोमा ५ स्थान, पेन्सिल्भेनियामा ३ स्थान, नर्थ क्यारोलिनामा ३ स्थान र डेनभर, कोलोराडोमा ३ स्थानमा प्रदर्शन हुने निश्चित भैसकेको छ । यी सबै थलोमा नेपालीको बाक्लो बसोबास छ ।

त्यससँगै यो फिल्म शिकागो, एटलान्टा, टेनेसी, मिसौरी, एरिजोना, आयोवा, विस्कन्सिन, मिशिगन, युटा, नेभाडा, वासिङ्टन, ओरेगन र अलास्कामा पनि प्रदर्शन हुनेछ । अमेरिकी दर्शकले अग्रिम बुकिङ फनडान्गो र सम्बन्धित हलको वेबसाइटबाट निश्चित गर्न सक्ने जनाइएको छ ।

सम्बन्धित खबर