२०८१ असोज ३, बिहिवार , ०३:४९:४३ बजे

Sajhamanch
'

क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पार्दै गुलसनको विश्व कीर्तिमान

बिहिवार, असोज ३, २०८१

काठमाडौं । नेपालका युवा अलराउण्डर गुलसन झाले दुई लेजेन्ड्स खेलाडी क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पार्दै विश्व कीर्तिमान बनाएका छन् ।

आईसीसी विश्वकप लिग–२ मा गुलसनले ओमानविरुद्ध पाँच विकेट लिनुको साथै ५० माथि रन बनाउँदै ओडीआईमा कम उमेरमा यो सफलता हात पारेका हुन् ।

उनले १८ वर्ष २१४ दिनमा उक्त सफलता हात पारे । यसअघि सन् २००० मा पाकिस्तानका अब्दुल रजाकले २० वर्ष ५० दिनमा भारतविरुद्ध बनाएको कीर्तिमान तोडिएको हो ।

पाकिस्तानकै शाहिद अफ्रिदीले २००० मा इंग्ल्यान्डविरुद्ध २० वर्ष २४० दिनमा उक्त सफलता हात पारेका थिए । वेस्टइण्डिजका क्रिस गेलले २००३ मा २३ वर्ष २५३ दिनमा अष्ट्रेलियाविरुद्ध तथा २०२३ मा नेदरल्यान्ड्सका बास डि लिडेले २३ वर्ष २३३ दिनमा स्कटल्यान्ड एकै ओडीआई खेलमा ५ विकेट लिनुको साथै ५० माथि रन बनाएका थिए ।

गुलसन लिग–२ मा एकै खेलमा ५ विकेट र ५० माथि रन बनाउने पहिलो खेलाडी पनि बनेका छन् । उनी ओडीआई इतिहासमा एकै खेलमा ५ विकेट र ५० माथि रन बनाउने विश्वकै २४ औं खेलाडी हुन् ।

ओडीआईमा सबैभन्दा पहिला सन् १९८७ मा वेस्टइण्डिजका भिभियन रिचर्ड्सले एकै खेलमा ५ विकेट लिनुको साथै ११९ रनको शतकीय इनिङ न्युजिल्यान्डविरुद्ध खेलेका थिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो । गुलसन झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रन बनाएका थिए ।

२२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । गुलसनले १० ओभरमा ४७ रन खर्चेर ५ विकेट लिएका थिए । नेपाल १ विकेटले पराजित भएपनि उनले खेलको प्लेयर अफ द म्याच अवार्ड जिते ।

सम्बन्धित खबर