२०८१ कार्तिक २९, बिहिवार , ०७:४२:१९ बजे

Sajhamanch
'

महिला टी–२० विश्वकपको विजेताले पाउने पुरस्कार बढ्यो

बुधवार, असोज २, २०८१

झापा । अर्को महिनामा यूएईमा हुने महिला टी–२० विश्वकपको विजेताले पाउने पुरस्कार राशि बढेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार यस पटकको विश्वकप विजेताले २३ लाख ४० हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको विश्वकप च्याम्पियन अस्ट्रेलियाले जितेको रकमको तुलनामा १३४ प्रतिशतले बढी हो । अस्ट्रेलियाले विश्वकप जित्दा १० लाख अमेरिकी डलर पाएको थियो । महिला र पुरुष विश्वकपमा समान पुरस्कार प्रदान गर्ने पहलमा यो कदम चालिएको आईसीसीले जनाएको छ ।

आईसीसीले २०२४ को पुरुष टी–२० विश्वकपको विजेता भारतलाई २४ लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको थियो । पुरुष टी–२० विश्वकपमा २० राष्ट्र सहभागी हुँदा महिला टी–२० विश्वकपमा १० राष्ट्रको मात्र सहभागिता रहनेछ ।

२०२४ को महिला विश्वकपको उपविजेताले ११ लाख ७० हजार अमेरिकी डलर पाउनेछ । गएको वर्ष उपविजेता दक्षिण अफ्रिकाले ५ लाख अमेरिकी डलर पाएको थियो । २०२४ मा सेमिफाइनलमा पराजित दुई टोलीले ६ लाख ७५ हजार अमेरिकी डलर पाउनेछन् । जुन अघिल्लो संस्करणमा २ लाख १० हजार अमेरिकी डलर थियो ।

सन् २०२४ मा सहभागी हुने सबै १० टिमले १ लाख १२ हजार ५०० अमेरिकी डलर पाउने छन् । नवौँ संस्करणको महिला टी–२० विश्वकप अक्टोबर ३ देखि यूएईमा शुरु हुँदैछ । बङ्गलादेशमा सुरक्षाको कारण देखाउँदै प्रतियोगिता यूएई सारिएको थियो ।

सम्बन्धित खबर