२०८१ मंसिर १२, बुधवार , ११:२८:१२ बजे

Sajhamanch
'

भद्रपुरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु, पहिलो दिन २४ खेल सम्पन्न

शुक्रवार, भदौ २८, २०८१

भद्रपुर । झापाको भद्रपुरमा आजदेखि कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भद्रपुर–८ स्थित मेची रंगशाला परिसरमा रहेको कभर्ड हलमा प्रतियोगिता सुरु भएको हो ।

आज पहिलो दिन पुरुष खुला डबल्स र भेट्रान्स डबल्स गरी २४ वटा खेल सम्पन्न भएको आयोजकले जनाएको छ ।

संघका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा आज बिहान आयोजित एक समारोहका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले प्रतियोगिता उद्घाटन गरेका थिए ।

संघका सचिव तीर्थराज ढकालले सञ्चालन गरेको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले पछिल्लो समय भद्रपुरमा खेलकुद गतिविधिमा तीव्रता आएको बताउँदै खेलकुद क्षेत्रको प्रवर्धनका लागि नगरपालिका लागिपरेको जानकारी दिए ।

समारोहमा नेपाल ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठ, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वाँस्तोला, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संघका अध्यक्ष दिपेश ढकालले प्रतियोगिताको औचित्यसहित स्वागत मन्तव्य राखेको सो समारोहमा केन्द्रीय अध्यक्ष श्रेष्ठलाई ब्याडमिन्टन लगायत खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरिएको थियो ।

शनिबारसम्म चल्ने प्रतियोगितामा कुल ४७ खेल हुने बताइएको छ । भारतको दार्जीलिङस्थित सलोनी टि कपले प्रायोजन गरेको प्रतियोगिताको खुलातर्फका विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल पाउनेछन् भने दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद १०–१० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

त्यस्तै, भेट्रान्सतर्फका विजेताले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद १०–१० हजार रुपैयाँ, ट्रफी र मेडल पाउनेछन् ।

सम्बन्धित खबर