
काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डिसी सत्तारुढ दल एमाले निकट जनपक्षीय चलचित्रकर्मी सङ्घको अध्यक्ष एवम् चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुन् ।
बोर्ड अध्यक्ष पदका लागि डिसीसँगै चलचित्र निर्देशक दीपा पाण्डे बस्नेत र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाको नाम सिफारिस भएको थियो ।
सिफारिस भएकामध्ये मन्त्रिपरिषद बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।