काठमाडौं । भारतीय सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको भारतको मुम्बइमा रहेको एपोलो अस्पतालमा उपचारका क्रममा हिजो निधन भएको हो ।
मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली सन्तसँग उनले सन् १९७४ मा दीक्षा लिएको संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिए। नेपाली गुरुसँग शिक्षा लिनुअघि उनी भारतीय वायुयान सेवामा पाइलट रहेकाले उनलाई पाइलट बाबा भनिएको हो ।
यही नामले उनी प्रसिद्ध भए । पाइलट बाबाले भक्तपुरको सूर्यविनायक नगरपालिका घ्याम्पेडाँडामा पाइलट बाबा आश्रम बनाएका छन् । आश्रममा उनी बेला बेलामा आएर बस्ने गरेका थिए। नेपालमा उनका चिकित्सकलगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध धेरै शिष्य छन् ।
भारतको प्रयागमा हुने कुम्भ मेलामा जाँदा नेपालीलाई बस्ने, खानेलगायत सुविधा दिई उनले आश्रयसमेत दिने गरेका थिए। पाइलट बाबा बिहारको सहर्षा जिल्लाको राजपरिवारका सदस्यका रुपमा जन्मेका थिए।
हरिद्वार र गङ्गोत्रीलगायत धेरै ठाउँमा उनले जुना अखडा नामको आश्रम चलाउने गरेका थिए। उनलाई महामण्डलेश्वरको पदवीसमेत दिइएको थियो ।