२०८१ मंसिर १२, बुधवार , ०९:०५:३९ बजे

Sajhamanch
'

झापा २ मा महिलालाई राजनीतिक प्रशिक्षण

शनिवार, भदौ १, २०८१

बिर्तामोड । नेपाल महिला संघ झापाको आयोजना र २ नम्बर क्षेत्रीय समितिको संयोजनमा क्षेत्रस्तरीय एकदिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आज सम्पन्न गरिएको छ ।

नेपाली काङ्ग्रेस झापा जिल्ला कार्यालयमा आयोजित प्रशिक्षणमा महिलाहरुको नेतृत्व विकासका विषयमा पूर्णप्रसाद गौतम, महिला अधिकार सम्बन्धी कानुनी ब्यवस्थाका विषयमा लक्ष्मी शिवाकोटी र नेपाल प्रजातान्त्रिक आन्दोलनको इतिहास र नेपाल महिला संघको इतिहासका विषयमा विकाश उप्रेतीले प्रशिक्षण दिएका हुन् ।

प्रशिक्षणको उद्घाटन गर्दै नेपाली काङ्ग्रेस झापाका कार्यवाहक सभापति केशबराज पाण्डेले जिम्मेवारी लिने तर पूरा नगर्ने प्रवृत्तिले पार्टी मजबुत नहुने धारणा राख्दै पाएको जिम्मेवारी सबैले पूरा गर्दामात्रै संगठन बलियो हुने बताए ।

आफ्नो मन्तब्यमा नेता पाण्डेले शिक्षा, स्वास्थ, संचार, भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा नेपाली काङ्ग्रेसको नेतृत्वमा थुप्रै काम भएको चर्चा गरेको थिए ।

धर्मग्रन्थमा पनि महिलाहरुको उच्च स्थान रहेको चर्चा गर्दै उनले उच्च मनोबलका साथ अघि बढ्न महिलाहरुलाई आह्वान गरेका छन् ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटीले नेपाली काङ्ग्रेस र महिला संघको भूमिकाका विषयमा बुझ्न प्रशिक्षण प्रभावकारी हुने विश्वास ब्यक्त गरिन् ।

महिलाहरुको स्वतस्फूर्त सहभागिताले मात्रै राजनीतिक उपलब्धि प्राप्त हुने धारणा गिरिजाप्रसाद कोइरालाले नै राखेको कुरा स्मरण गर्दै नेतृ शिवाकोटीले हरेक क्षेत्रमा महिलाहरुको गुणात्मक सहभागिता जरुरी रहेको भनाई राखिन् ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै नेपाल महिला संघ झापाका अध्यक्ष टीका सिटौला मैनालीले महिलाहरूको सशक्तीकरण र क्षमता अभिबृद्दिका लागि झापाका पाँचवटै क्षेत्रमा प्रशिक्षण आयोजना गरिएको बताइन् ।

नेपाल महिला संघ २ नम्बर क्षेत्रीय सभापति मनु बिश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघ झापा सचिव उर्मिला ढकाल पोखरेलले स्वागत गरेकी थिइन् भने कार्यक्रमको संचालन प्रभा पौडेलले गरिन् ।

सम्बन्धित खबर