काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई महिनाको अवधिमा गरेका अध्ययन र छानबिन प्रक्रिया टुङ्गाएर प्रतिवेदन लेखन प्रक्रिया अगाडि बढाएको छ ।
समितिका सभापति सूर्य थापाले संसदीय छानबिन विशेष समितिले अहिलेसम्म सरोकार भएका विभिन्न निकायसँग ३३ पटक छलफल गरेको र अब केही व्यक्तिसँग सोधपुछ गरी प्रतिवेदनलाई अन्तिम रूप दिने काम सँगसँगै अगाडि बढाउने बताए। उनकाअनुसार समितिले छानबिनका लागि कार्यादेश पाएका २९ वटा सहकारी संस्थाका २६ जना व्यक्तिसँग सोधपुछ गर्ने र प्रतिवेदन मस्यौदा तयार पार्ने काम सँगसँगै अघि बढ्नेछ ।
समस्याग्रस्त घोषणा भएका २० र विवादित नौ गरी २९ वटा सहकारीको अध्ययन गर्ने कार्यादेश समितिले पाएको छ । तीमध्ये केही सहकारीको वित्तीय विवरण पनि विश्लेषण गरिने थापाले जानकारी दिए। सहकारीको सिद्धान्त, मूल्यमान्यता पालना नगर्दा अधिकांश संस्थामा समस्या देखिएको र केही सहकारी संस्थामा भने सङ्गठित रूपमै ठगी भएको देखिएको पनि उनले बताए।
समस्याग्रस्त घोषणा गरिएका र बचत रकम हिनामिना भएर छानबिनको लागि समितिको कार्यादेशभित्र अटाएका २९ सहकारीका २० जना फरार छन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणबारे पनि समितिले छानबिन गरिरहेको छ । संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई फरार छन् ।
समितिले गरेको अनुसन्धानका क्रममा राई मलेसियाबाट नेपाल फर्किएको विवरण भेटिएको तर नेपालबाट बाहिरिएको विवरण भने नभेटिएको सभापति थापाले बताए।