२०८१ कार्तिक १०, शनिवार , १०:२५:३५ बजे

Sajhamanch
'

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ बोकेर सिंगापुर पुगे आयोगका अध्यक्ष

आइतवार, साउन २०, २०८१

काठमाडौं । दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको ब्ल्याक बक्स बोकेर दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष रतिशचन्द्र लाल सुमन सिंगापुर पुगेका छन् ।

जहाज दुर्घटनाको छानबिन तथा अध्ययनका क्रममा रहेको आयोगले भ्वाइस रेकर्ड तथा घटना विवरणको जाँच गर्न सकिने ब्ल्याक बक्स परीक्षण गर्न सिंगापुर पठाएको हो ।

अध्ययनका सन्दर्भमा ब्ल्याक बक्स बोकेर अध्यक्ष आफैं सिंगापुर गए पनि थप सूचना नआएको र उनी फर्किसकेपछि विज्ञप्तिमार्फत सार्वजनिक गरिने आयोगका सदस्य सुदीप भट्टराईले बताए ।

‘अध्ययनको सन्दर्भमा थप बोल्न मिल्दैन । जे–जति सूचनाहरू छन्, ती सबै आधिकारिक रूपमा विज्ञप्तिमार्फत मात्र सार्वजनिक गर्छौं । ब्ल्याक बक्स जाँच गर्ने सन्दर्भमा अध्यक्षज्यूले नै आफू सिंगापुर गएको सार्वजनिक गरिसक्नुभएको छ । थप सूचना आएको छैन । उहाँ फर्किएपछि के कसो भयो विज्ञप्तिमार्फत सार्वजनिक गर्छौं,’ भट्टराईले भने ।

साउन ९ गते काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको बम्बार्डियर जहाज उड्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त जहाजमा सवार १९ जनामध्ये १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

क्याप्टेन मनिषरत्न शाक्यको भने सकुशल उद्धार गरिएको थियो । आवश्यक उपचारपछि केएमसी शिक्षण अस्पताल सिनामंगलबाट क्याप्टेन शाक्य डिस्चार्ज भइसकेका छन् ।

जहाज दुर्घटना भएकै दिन सरकारले घटनाको सत्य तथ्य छानबिन गर्न भन्दै ५ सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा गठित दुर्घटना जाँचबुझ आयोगको सदस्यहरूमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक इन्जिनियरिङ क्याम्पसका मेकानिकल इन्जिनियर तथा विभागीय प्रमुख सुदीप भट्टराई, श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी र त्रिभुवन विमानस्थल (टीआईए) का एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल रहेका छन् ।

यसअघि २०७९ माघ १ गते पोखरामा दुर्घटनाग्रस्त भएको यती एयरलाइन्सको ब्ल्याक बक्स पनि परीक्षणका लागि सिंगापुर नै पठाइएको थियो ।

सम्बन्धित खबर