बिर्तामोड । नेकपा माओवादी (केन्द्र)मा प्रवेश गर्ने झापाका ५ सय बढीलाई स्वागत गर्न सो पार्टीका उपमहासचिव हरिबोल गजुरेल (शितलकुमार) झापा आउने भएका छन् ।
उक्त पार्टीको झापा जिल्ला कार्यसमितिले बिहीबार बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी दिइएको हो ।
पार्टीका झापा संयोजक राजु आचार्य (अग्नि)का अनुसार नवप्रवेशीहरुलाई स्वागत गर्न यही साउन १९ गते बिर्तामोडमा ‘पार्टी प्रवेश तथा स्वागत कार्यक्रम’ को तयारी गरिएको छ ।
पत्रकार भेटघाटमा उक्त पार्टीका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो)ले लामो समयपछि पार्टी प्रतिपक्षमा रहेकाले माओवादीको आगामी योजना के छ भन्ने आमनागरिकमा चासो रहेको बताए ।
‘हामी सरकारमा रहे पनि नरहे पनि सधैं जनतासँगै छौं’, उनले भने, ‘माओवादी पार्टी सक्किने होइन, सच्चिने कुरामा दृढ संकल्पित छ भन्ने सन्देश दिन पनि कार्यक्रम गर्न लागिएको हो ।’
देशको मूल राजनीतिक शक्ति भएकाले माओवादीप्रति जनताको भावना सकारात्मक नै रहेको सन्देश दिन पनि कार्यक्रम गर्न लागिएको सो कार्यक्रममा बताइएको छ ।
माओवादी पार्टी छोड्ने मात्र होइन, पार्टीमा फर्किने पनि क्रम जारी रहेको सन्देश दिन पनि कार्यक्रम गर्न लागिएको पार्टीका जिल्ला संयोजक अग्निले जानकारी दिए ।
पत्रकार भेटघाटमा पार्टीका प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (विजय), जिल्ला नेता भवानीप्रसाद दंगाल लगायतको आतिथ्यता थियो ।
https://www.facebook.com/share/v/ppiNWRAQBNc4uyuP/?mibextid=oFDknk