२०८१ मंसिर १०, सोमवार , ०१:५६:३४ बजे

Sajhamanch
'

२० जनामा हैजा पुष्टि, सतर्कता अपनाउन मन्त्रालयको आग्रह

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० जनामा हैजा पुष्टि भएको जनाएको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले साउनयता काठमाडौं, ललितपुर र कैलालीका २० जनामा हैजा पुष्टि भएको जनाएको हो । गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखालाका, हैजा तथा पानीजन्य रोगहरू फैलने हुँदा सजग र सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘रोगीको मलमूत्रबाट पानीको मुहानलाई जोगाउनु पर्दछ । झिँगा लागेको, बासी, सडेगलेका, नपाकेका, चिसिएको खुला स्थानका खाद्यपदार्थ खानु हुँदैन । पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइ (विशेष गरी हातको सरसफाइ) तथा खानेकुराको सरसफाइलाई विशेष ध्यान पुर्याउनुहुन साथै, समुचित चर्पीको प्रयोग र दिसा पिसाब गरिसकेपछि साबुन पानीले मिची– मिची हात धुनुहुन सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौँ ।’

मन्त्रालयका अनुसार हैजाका मुख्य लक्षण तथा चिन्हहरूमा पातलो चौलानी पानी जस्तो दिसा आउने वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन पर्दछन् ।

संक्रमणले गम्भीर अवस्थामा पुर्याउँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रंग पहेँलो हुने, चिडचिडापन हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुन सक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले तुरुन्तै स्वास्थ्य संस्था नपुगे ५० प्रतिशतसम्म मृत्युदर हुने गरेको जनाएको छ ।

सम्बन्धित खबर