२०८१ माघ १८, शुक्रवार , ०६:२३:५७ बजे

Sajhamanch
'

आफूलाई सन्दीपले बलात्कार नगरेको गौशाला २६ को जिकिर, सन्दीप विरुद्ध सर्वोच्च नजाने निवेदन दर्ता

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दा हालेकी युवती गौशाला २६ ले पाटन उच्च अदालतले दिएको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने भएकी छन् ।

गौशाला २६ ले गत जेठ २ गते पाटन उच्च अदालतले सन्दीपलाई सफाइ दिने गरी गरेको फैसालविरुद्ध सर्वोच्च नजाने भन्दै उच्च सरकारी वकिलको कार्यालयमा निवेदन दिएकी हुन् ।

उच्च सरकारी वकिलको कार्यालय पाटनका उपन्यायाधिवक्ता एवम् प्रवक्ता धर्मअवतार कोइरालाले यसको पुष्टि गरेका छन् ।

‘‘गौशाला २६ को तर्फबाट एउटा निवेदन आइपुगेको छ । जसमा उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च नजाने व्यहोरा उल्लेख गरिएको छ’ कोइरालाले बताए ।

गौशाला २६ ले उक्त निर्णसहित उच्च सरकारी वकिलको कार्यालयमा निवेदन दिएसँगै अब सन्दीपलाई पनि राहत मिलेको छ । उनले आफूविरुद्धको बलात्कार मुद्दाबाट उच्चदेखि नै स्थायी रुपमा राहत पाउने निश्चित भएको छ ।

गौशाला २६ ले सन्दीपविरुद्ध सर्वोच्च नजाने निर्णयसहितको निवेदन महान्यायाधिवक्ताको कार्यालयमा समेत पठाएकी छन् ।

उनले सुरुमा महान्यायाधिवक्ता रमेश बडालकहाँ निवेदन पुर्‍याएकी थिइन्। त्यसपछि आज शुक्रबार उच्च सरकारी वकिलको कार्यालय पाटनमा निवेदन दर्ता गराएकी हुन् ।

गौशाला २६ ले उच्च सरकारी वकिलकहाँ दर्ता गराएको उक्त निवेदनमा सन्दीप विरुद्धको मुद्दा दर्ता गराएदेखि नै आफूलाई अनेक किसिमको तनाव आइलागेको उल्लेख गरेकी छन् ।

उनले आफूमा परेको मानसिक तनावको विभिन्न व्यक्ति र संस्थाहरूले फाइदा उठाएको पनि प्रष्ट्याएकी छन् ।

त्यसैगरी प्रतिवादी (सन्दीप लामिछाने) विरुद्ध ती व्यक्ति र संस्थाले अनेक भ्रम छरेर आफूलाई दबाब दिएको पनि निवेदनमा लेखेकी छन् । उनले आफूलाई सन्दीपले बलात्कार नगरेको जिकिरसहित अब मुद्दा अघि नबढाउने उल्लेख गरेकी हुन् ।

उनले उक्त मुद्दा अघि बढेदेखि आफू निरन्तर दबाब र त्रासमा रहेको उल्लेख गर्दै यसले भविष्यसम्म पार्न सक्ने असरबारे आफूले ख्याल नगरेको पनि उल्लेख गरेकी छन् ।

आफूलाई उच्च अदालत पाटनको फैसला स्वीकार्य भएको पनि उनले निवेदनमा भनेकी छन् । उच्चले मुद्दाको फैसलाका क्रममा लिएका आधारहरूको आफूले सम्मान गर्ने बताउँदै शान्तिपूर्वक बाँच्न यस्तो निर्णय लिँदै मुद्दा अघि बढाउने निर्णयमा नपुगेको पनि उनले उल्लेख गरेकी छन् ।