२०८१ पौष २७, शनिवार , १०:०७:०२ बजे

Sajhamanch
'

भद्रपुर भन्सारले संकलन गर्यो सवा २४ करोड राजस्व

शनिवार, साउन ५, २०८१

भद्रपुर । भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा शतप्रतिशत राजस्व संकलन गरेको छ ।

कार्यालयले २४ करोड ३४ लाख २७ हजार ३६ रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा शतप्रतिशत पूरा गर्न सफल भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा कार्यालयले विभिन्न शीर्षकमा ९ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

भारतको विहार राज्यको गलगलिया, ठाकुरगञ्ज, किसनगञ्ज नाका भएर भद्रपुर हुँदै प्रमुख रूपमा लत्ताकपडा, चिया प्याकिङ्गका सामग्री तथा मेशिनरी पार्टस्, प्लाइउड, उद्योगको पाटपूर्जाको केमिकल तथा फलफूल र खेतीपातीमा प्रयोग हुने विषादी आयात हुने गरेको छ ।

भद्रपुर भन्सार कार्यालय विहारको गलगलिया छोटी भन्सारसँग सीमा जोडिएको छ । गलगलिया छोटी भन्सारले ५ लाखभन्दा बढीका सामान निर्यात गर्न नपाउने त्यहाँको कानूनी व्यवस्थाको अनुसार भद्रपुर भन्सार कार्यालयले ठूलो राजश्व संकलन गर्न नसकेको बताइएको छ ।

भद्रपुरतर्फ व्यवस्थित संरचना भए पनि विहारतर्फ नभएका कारण व्यवसायीले समस्या झेल्नुपरेको हो । ‘तर, थुप्रै चूनौतीहरु हुँदाहुँदै पनि कार्यालयले अवैधरुपमा हुने चोरी पैठारी नियन्त्रणमा निगरानी बढाएको छ । जति स्रोत साधनहरु छन्, यसको प्रयोग गदैं कर्मचारीहरु कामप्रति वफादार भएकै कारण सफलता मिलेको कार्यालय प्रमुख अमित तिवारीको भनाई छ ।

यसअघि सो कार्यालय हुँदै आयात निर्यात गर्ने व्यवसायीहरूले प्रज्ञापन पत्र आफैं भर्ने गरेको भए पनि पछिल्लो समय लाइसेन्स लिएका कानूनी मान्यता प्राप्त भन्सार एजेण्टहरूले प्रज्ञापन पत्र भर्न थालेको कार्यालयले जनाएको छ ।

भद्रपुर भन्सार कार्यालयको मातहतमा पाठामारी, केचना, घेराबारी पन्थापाडा र कुमररखोद गरी पाँचवटा छोटी भन्सार कार्यालय रहे पनि सबै छोटी भन्सार कार्यालय सञ्चालनमा आउन सकेका छैनन् ।

सम्बन्धित खबर