काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिको मस्यौदा राष्ट्र बैंकको व्यवस्थापन समूहले टुङ्ग्याइसकेको छ र सञ्चालक समितिबाट पास हुन बाँकी छ । अहिले बस्ने सञ्चालक समितिले मौद्रिक नीतिको निर्णय गर्नेछ । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा तयार गरेको छ ।
बैंकमा लगानी योग्य रकम थुप्रने क्रम बढ्दै गएकाले कर्जा बढाउने नीतिका साथ मौद्रिक नीति ल्याउन लागिएको हो । अर्थतन्त्र शिथिल बनिरहेको र बैंक तथा वित्तीय संस्थाबाट पुँजी प्रवाह नभइरहेको अवस्थामा मौद्रिक नीतिले कस्तो कार्यदिशा लिन्छ भन्ने आमचासो बनेको छ ।
अर्थमन्त्रीको चाहनाअनुसार राष्ट्र बैंकले यस पटक लचिलो मौद्रिक ल्याउने तयारी गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ । विशेष गरेर घरजग्गा कारोबार, शेयर कारोबार र बैंकको कर्जा तिर्नको लागि लचिलो मौद्रिक नीति आउनेगरी मस्यौदा तयार भएको छ ।
यस्तै, निर्माण क्षेत्र र खुद्रा क्षेत्रमा कर्जा बढाउनेगरी राष्ट्र बैंकले योजना बनाइरहेको छ । अहिले ब्याजदर धेरै नै घटिसकेकाले कर्जा विस्तारमा जोड दिने तयारी छ । बजारमा भइरहेको माग र अपेक्षालाई बेवास्ता गर्दा अर्थतन्त्रमा समस्या देखिएको विषयलाई स्वीकार गरेर बजारको केही माग पूरा गर्नेगरी मौद्रिक नीतिको मस्यौदा बनेको राष्ट्र बैंक स्रोतले उज्यालोलाई जानकारी दिएको छ ।