
काठमाडौं । अमेरिकी दूतावासमा लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा परेकी छन् ।
उपसभामुख रानाले आफ्नो टोलीको सदस्य भन्दै ५ जनाको अन्तर्वार्ताको समय अगाडि सारिदिन काठमाडौंस्थित अमेरिकी दूतावासका लागि पत्र लेखेको पाइएको हो ।
सभामुख देवराज घिमिरेले यो विषय गम्भीर भएको बताएका छन् । उपसभामुख रानाले भने एक वर्ष पछाडि यो विषय किन उठाएको बुझ्न नसकेको प्रतिक्रिया दिएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राना ७ माघ २०७९ मा उपसभामुख निर्वाचित भएकी थिइन् । अर्को महिना फागुनमा उनी यूएन वुमनको सीएसडब्लू ६७ (मार्च ६ देखि १७) मा सहभागी हुन अमेरिका गएकी थिइन् ।
उनले १४ फागुन (२६ फेब्रुअरी)मा दूतावासलाई लेखेको पत्रमा भनिएको छ, ‘म अनुरोध गर्न चाहन्छु कि सांसद र मेरा सहयोगी सदस्यहरूसँगै म पनिसँगै अन्तर्वार्ताको समय लिन चाहन्छु । किनभने कार्यक्रमको तालिका पनि निकट आइसकेको छ ।’
आफूसहित ६ जनाकै लागि यो कार्यक्रम असाध्यै महत्वपूर्ण भएको भन्दै उनले पत्रमा अघि लेखेकी छन्, ‘राष्ट्रसंघको निम्तोलाई म हृदयदेखि आभार व्यक्त गर्दछु र तपाईंको समन्वयमा आशावादी छु ।’
रास्वपा नेताहरूका अनुसार उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे पार्टीमा कुरा उठेको थियो । संगठन विभागका सचिव शंकर श्रेष्ठले सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले लगायतका नेताहरूलाई यसबारे जानकारी गराएका थिए ।
त्यसपछि उपसभामुख रानालाई सोध्दा रास्वपा झापाका नेता उपेन्द्र गौतमलाई मात्र आफूले चिनेको र उनले भने अनुसार पत्र लेखेको उनको जवाफ थियो । उनीहरुको पासपोर्ट नम्बरका आधारमा अध्यागमन विभाग (त्यसबेला रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री थिए) मार्फत अमेरिका गए नभएको हेरिएको थियो । उनीहरु अमेरिका नगएको खुल्यो ।
पार्टीले उपसभामुखको पत्रमा उल्लेख गरेका व्यक्तिबारे झिकाएर छलफल गर्न खोजिएको थियो । तर पैसा फिर्ता भइसक्यो भन्दै आउन अस्वीकार गरेपछि यो विषय गुपचुप रह्यो । ‘एक वर्षसम्म पैसा फिर्ता नगरेपछि उनीहरु पार्टीमा भन्न आएका रहेछन्’ एक नेता भन्छन्, ‘पैसा फिर्ता भयो, हामी बयान दिँदैनौं भनेपछि यतिकै सकियो ।’
पत्र चुहिएपछि विवाद
उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्र झण्डै १७ महिनापछि हालै मात्र सार्वजनिक भयो । आफ्नो टिमको सदस्य भन्दै भिसाका लागि समय लिने पत्रबारे सभामुख देवराज घिमिरेले चासो राखेका हुन् ।
उनले सुरुमा उपसभामुखलाई सोधेका थिए, रानाले आफूले पत्र नलखेको दाबी गरिन् । ‘यदि हस्ताक्षर दुरुपयोग भएको हो भने कीर्तेमा जानुस्, पत्र गलत भए सार्वजनिक गर्ने सञ्चार माध्यम विरुद्ध प्रेस काउन्सिलमा उजुरी दिन भनेका थियौं’ सभामुख निकट स्रोतले भन्यो, तर उहाँले केही गर्नुभएन ।’
सार्वजनिक रुपमै प्रश्न उठेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग चासो राखेका थिए ।
संसद्को क्यालेन्डरबारे छलफल गर्न सभामुखले बिहीबार प्रमुख सचेतक र सचेतकहरूलाई बोलाएका थिए । त्यो छलफलपछि प्रमुख सचेतक परियारले सभामुखलाई भेटेर ‘यो विषय र प्रक्रिया के हो ?’ भनेर सोधेका थिए । सभामुख घिमिरेले आफूलाई विस्तृत थाहा नभएको, तर विषय गम्भीर रहेको बताएका थिए ।
स्रोतका अनुसार उपसभामुखको पत्रबारे उच्च राजनीतिक नेतृत्वले समेत चासो देखाएका छन् । सत्तारुढ दलका एक नेताका अनुसार यो विवाद यत्तिकै नटुंगिनसक्छ, किनकी उपसभामुख पनि संवैधानिक परिषद्को सदस्य हुने व्यवस्था छ ।
राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले तीन दिन अगाडि आफूकहाँ उजुरी आएको र यसबारे सभामुख तथा संसदका महासचिवसँग छलफल गरेको बताए । यो उपसभामुखसँँगै रास्वपाका लागि प्रश्न भएको बताए ।
पत्र लेखेको हुँ, गलत नियत छैन
उपसभामुख रानाले भने आफूले अमेरिकी दूतावासलाई पत्र लेखेको स्वीकार गरेकी छन् । उनका अनुसार उपसभामुख भएपछि कोही परियोजना माग्ने आउथेँ, कोही सिफारिस । त्यसक्रममा चिनजानका (रास्वपा झापाका नेता) उपेन्द्र गौतम अमेरिकी दूतावासले लिने अन्तर्वार्ताका लागि समय सार्न पत्र लेखिदिन आग्रह गर्दै आए ।
‘मैले सिफारिस गरेको होइन, प्रिडेटका लागि यो कार्यक्रममा जाने हो भनेर पत्र लेखेको हुँ’ उनले भनिन्, म आफैं जाने कार्यक्रम थियो । नेपालीहरू पनि जान पाउँदा केही सिक्लान् भन्ने मात्र सोचेँ ।’
तर डेढ वर्ष पछाडि पत्र सार्वजनिक गरेर अहिले किन प्रश्न उठाइँदैछ भन्ने आफूले नबुझेको उनले बताइन् ।
उपसभामुखका रुपमा राम्रै काम गरेको छु जस्तो आफूलाई लागेको भन्दे उनले भनिन्, ‘अहिले राजनीतिक संकट छ । संकटकै बेला डेढ वर्ष अघिको विषय किन उठाएको हो, मैले बुझ्न सकेको छैन ।’