२०८१ फागुन १५, बिहिवार , १२:२८:४९ बजे

Sajhamanch
'

ओली क्याबिनेटमा एमालेबाट को को बन्दैछन् मन्त्री

आइतवार, असार ३०, २०८१

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आफूसँगै सबै मन्त्रीहरुको शपथ गराउने तयारी गरेका छन् ।

राष्ट्रपति कार्यालयमा सोमबार बिहान ११ बजे प्रधानमन्त्री ओलीको शपथ छ । ओलीले शपथ लिए लगत्तै उपप्रधानमन्त्रीका रुपमा प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलको शपथ हुनेछ ।

त्यसपछि बाँकी सबै मन्त्रीहरुको शपथ गराउने तयारी रहेको स्रोतले जनाएको छ ।

एमालेमा मन्त्री छान्ने जिम्मा अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई दिइएको छ । सचिवालय बैठकले मापदण्ड बनाएर मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको हो । जसअनुसार ओलीले मन्त्री बन्ने सांसदहरुलाई संकेत दिइसकेका छन् । तर पक्का भने गरेका छैनन् ।

‘मन्त्री बन्नुपर्छ भनेर भन्नुभएको छ, तर टीम मिलाउने क्रममा तलमाथि हुन सक्ने भएकाले निश्चित छैन’ ओलीले मन्त्री बनाउने संकेत गरेका एक सांसदले भनेका छन् ।

मन्त्रीको आश्वासन पाएका अर्का सांसद पनि ढुक्क हुने अवस्था नरहेको बताउँछन् । ‘पार्टी अध्यक्षलाई नाम टुंग्याउने जिम्मा दिएका छौं । उहाँले आवश्यक पर्दा परिवर्तन गर्न सक्ने भएकाले अहिले नै ढुक्क हुने स्थिति छैन’, ती सांसदले भने ।

उच्च स्रोतका अनुसार नवनियुक्त प्रधानमन्त्री ओलीले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरु योगेश भट्टराई र छविलाल विश्वकर्मालाई मन्त्री बनाउने तयारी गरेका छन् ।

सचिवालय बैठकले योग्य र अनुभवीलाई मन्त्री बनाउने मापदण्ड बनाएकाले सिनियर नेतामध्ये गुरुङ, भट्टराई र विश्कर्मा मन्त्री बन्ने सूचीमा परेका हुन् ।

यस्तै पूर्वमन्त्रीहरु जुली महतो र कृष्णगोपाल श्रेष्ठ पनि मन्त्री बन्ने नेताहरुको सूचीमा छन् । महतो र श्रेष्ठ यसअघि अघिल्लो कार्यकालमा ओली प्रधानमन्त्री हुँदा पनि मन्त्री थिए । कास्कीबाट निर्वाचित सांसद विद्या भट्टराईलाई मन्त्री बनाउने ओलीको तयारी रहेको एमाले स्रोतले जनाएको छ ।

यसबाहेक सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्ष जितेका दामोदर भण्डारी अथवा तारा लामा मन्त्री बन्ने सूचीमा छन् । भण्डारी यसअघि प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री थिए भने लामा सुदूरपश्चिम प्रदेशमा मन्त्री भएका थिए ।

प्रचण्ड नेतृत्वको सरकारमा कानुनमन्त्री रहेका पदम गिरी पनि मन्त्री दोहोरिने सम्भावना रहेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मन्त्रीको नाम बुझाउने तयारी गरिरहेका छन् ।

आइतबार साँझ मन्त्रालयको भागबण्डा टुंगो लगाएका देउवा र ओलीले भोलि बिहानसम्म मन्त्रीहरु टुंगो लगाउने भएका छन् । जसका लागि कांग्रेसमा सभापति देउवाले लगातार छलफल चलाइरहेका छन् ।

सम्बन्धित खबर