२०८१ कार्तिक ४, आइतवार , ०८:५८:१५ बजे

Sajhamanch
'

ईश्वर पोखरेल भन्छन्– नयाँ सरकारलाई फेल हुने छुट छैन

आइतवार, असार ३०, २०८१

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कांग्रेस एमाले मिलेर बन्ने अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई फेल वा असफल हुने छुट नभएको बताएका छन् ।

‘पहिलो र दोस्रो दल मिलेर बनेको सरकारलाई फेल वा असफल हुने छुट नै छैन’, नेता पोखरेलको भनाइ छ । मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्नुका साथै आर्थिक, सामाजिक सुधार गर्न जरुरी भएकाले नेपाली कांग्रेस र एमालेले सत्ता सहकार्य गर्न अनिवार्य भएको नेता पोखरेलको भनाई छ ।

‘मुलुकका दुई ठुला दल मिलेर बन्ने सरकारलाई असफल बन्ने छुट छैन’, रातोपाटीसँग संक्षिप्त कुरा गर्दै पोखरेलले भने, ‘मुलुकको हित र नेपाली जनताको सम्मृद्धिको चाहना पुरा गर्नु अहिलेको आवश्यकता हो ।’

उनले नेपाली कांग्रेस र एमाले मुलुकका जिम्मेवार राजनीतिक पार्टी भएकाले पनि उनीहरुले देश र जनताको हितविपरित गएर कुनै काम नगर्ने दाबी गरे । ‘कांग्रेस एमालेको लामो राजनीतिक इतिहास छ । उनीहरुले त्यो इतिहास जोगाउन पनि पार्टीगत स्वार्थ छाडेर मुलुकको हित सोच्छन्’, पोखरेलको भनाइ छ ।

उनले प्रचण्ड नेतृत्वको सरकारका पालमा छिटो छिटो समीकरण फेरबदलले राजनीतिक अस्थिरता बढेको भन्दै अस्थिरताका कारण आर्थिक विकास र सम्मृद्दिका मुद्दा प्रभावित बनेको बताए ।

‘यो बिचमा राजनीतिक अस्थिरताले आर्थिक विकास र सम्मृद्धिको अभियान र योजना प्रभावित भयो । त्यसकारण राजनीतिक स्थायित्व चाहिन्छ भनेर एमालेले भन्दै आएको हो’, पोखरेलले भने, ‘अर्कोतिर राष्ट्रिय स्वाधीनता र स्वाभिमानका मुद्दा पनि ओझेलमा पर्ने स्थिति पैदा भयो । सामाजिक सद्भाव पनि खल्बलिने खतरा भयो ।’

सम्बन्धित खबर