२०८१ मंसिर १३, बिहिवार , ११:४३:४६ बजे

Sajhamanch
'

मेचीनगरका ३५ हजार पशुलाई लगाइयो महामारी रोगविरुद्धको खोप

बिहिवार, असार २०, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले पशुपक्षीमा लाग्नसक्ने महामारीजन्य रोग नियन्त्रणका लागि अभियान सञ्चालन गर्दै आएको छ ।

नगरपालिकालाई आएको उक्त रोगविरुद्धको ३५ हजार डोज खोप अभियानका क्रममा हजारौं घरपालुवा पशुपक्षीलाई निःशुल्क लगाइएको हो । नगरको पशु सेवा शाखा र अन्य प्राविधिकसहितको टोलीले नगरका १५ वटै वडा पुगेर खोप सेवा दिँदै आएको जनाइएको छ ।

पशु सेवा शाखा प्रमुख छत्रबहादुर राईका अनुसार माघको पहिलोसाताबाट शुरु खोप अभियान अन्तर्गत जेठ अन्त्यसम्म खसीबाख्रामा लाग्ने पीपीआर, गाई भैंसीमा लाग्ने खोरेत (फुट एण्ड माउथ डिजिज–एफएमडी) र सुंगुर बंगुरमा लाग्ने स्वाईन फिवर रोगविरुद्धको खोप लगाइएको छ ।

उनले सो अवधिमा १५ हजार खसी बाख्रालाई पीपीआर विरुद्धको खोप, १५ हजार गाई भैंसीलाई खोरेत विरुद्धको खोप र ५ हजार सुंगुर बंगुरलाई स्वाईन फिवर रोगविरुद्धको खोप लगाइएको बताए ।

खुर फाटेका पशुचौपायामा मात्रै लाग्ने खोरेत रोगले स-साना पशुचौपायाको मृत्युदर उच्च हुने र ठूला पशुचौपायाको दूध उत्पादन ठप्प भए पनि मानिसलाई भने यो रोग नसर्ने पशु चिकित्सक जयराम मण्डल बताउँछन् ।

नगरभित्रका किसानका पशुलाई सुरक्षित राख्न नगरले सक्दो सहयोग गर्ने नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताए ।

त्यस्तै, नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले सरकारले खोरेत रोग मुक्त अभियान शुरु गरेसँगै मेचीनगरमा पनि किसानका पशुचौपायालाई घर गोठमै पुगेर खोप लगाइएको बताइन् ।

सन् २०३० सम्ममा मुलुकलाई खोरेत मुक्त घोषणा गर्ने लक्ष्यसहित राष्ट्रिय पशु रोग खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।

बिहिवार, असार २०, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर