काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशबाट फर्किएकालाई नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रमु’कार्यान्वयनको तयारी भइरहेको बताए। हिजो प्रतिनिधिसभा बैठकमा उनले स्वदेशभित्रै रोजगारी सिर्जना गर्नेसँगै विदेशबाट फर्किएकालाई यहीँ काम गर्ने वातावरण बनाउने गरी सरकारले काम गरिरहेको दाबी गरे ।
स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना, रोजगारद प्रवर्द्धन जस्ता कार्यक्रम सङ्घ, प्रदेश र पालिकाको सहकार्यमा सञ्चालनमा आएका र अब वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र पुँजीलाई स्वदेशमै उपयोग गर्ने गरी रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए।
नेपाली नागरिकले वैदेशिक रोजगारीको क्रममा आर्जन गरेको सीप, पुँजी, प्रविधि र ज्ञानको उपयोग गर्दै उद्यमशीलता प्रवर्द्धनमार्फत उत्पादनशील रोजगारी र स्वरोजगार सिर्जना गर्नको लागि वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनःएकीकरण परियोजना कोशी प्रदेश र मधेस प्रदेशका २० वटा पालिकामा कार्यान्वयन भइरहेको श्रममन्त्री अर्यालको भनाइ छ ।
श्रम स्वीकृतिको लागि निर्णयको तह घटाई दुई सिफ्टमा कार्यालय सञ्चालन गरी एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरिएको उनले संसदमा जानकारी गराए। आन्तरिक तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकको गुनासो, उजुरी तथा सुझावलाई सम्बोधन गर्न सूचना प्रविधिमा आधारित एकद्वार प्रणाली श्रमाधानको स्थापना र सञ्चालन गरिएको उनको भनाइ छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनर्संरचना गरी सीप विकास र उद्यमशीलतासँग आवद्ध गर्ने गरी प्रक्रिया अगाडि बढाइएको पनि उनले बताए। उनका अनुसार वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्श दिने कामलाई आउँदा आर्थिक वर्षदेखि सबै जिल्ला र पालिकामा बिस्तार गर्ने सरकारको योजना छ । साथै, वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, पहुँचयोग्य बनाउने उद्देश्यले व्यक्तिगत र पुनःश्रम स्वीकृतिसम्बन्धी सहजीकरण सेवा सबै पालिकामा रहेको रोजगार सेवा केन्द्रमार्फत हुने व्यवस्था गरिएको श्रममन्त्री अर्यालले बताए।