कमल । कमल गाउँपालिकाको कृषि विकास शाखाले बिहीवार एक कार्यक्रमकाबीच कृषकलाई कृषि सामग्री र मेसिनरी औजार वितरण गरेको छ ।
शाखाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत कृषकको मागका आधारमा गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईमार्फत कृषकलाई कृषि सामग्री र मेसिनरी औजार वितरण गरिएको हो ।
कमल गाउँपालिकावासीमध्ये धेरैजसोको मुख्य पेशा कृषि नै हो । व्यावसायीक रुपमा कृषि पेशा गर्दै उक्त पालिकाका कृषकलाई कृषि सामग्रीले कृषिकर्ममा सघाउ पुग्ने विश्वाससहित कृषि सामग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए ।
हस्तान्तरण गरिएका सामग्रीमध्ये ७५ प्रतिशत अनुदानमा १०१ जनालाई टनेल, ३४ जनालाई मल्चिङ्ग प्लास्टिक, ५० प्रतिशत अनुदानमा २२ जनालाई स्प्रे ट्याङ्की, ९ जनालाई हातेठेला र १ जनालाई मकैलाई ड्याङ्ग लगाउने मेसिन वितरण गरिएको सो पालिकाको कृषि विकास शाखा प्रमुख महेन्द्र बोहोराले बताए ।
गत वर्षसम्म कृषकको मागका आधारमा सामग्री वितरण गरिँदै आइए पनि यसवर्ष भने वडाबाट सिफारिश भएर आएका कृषकलाई शाखाको निर्देशन अनुसार टनेल घर निर्माण गरिसकेपछि जनप्रतिनिधि र कर्मचारीले अनुगमन गरेपछि मात्र सामग्री वितरण गरिएको कृषि प्राविधिक प्रेम पोखरेलले जानकारी दिए ।